महेन्द्रनगर : भीमदत्त नगरपालिका र नगरपालिकामा क्रियाशिल शिक्षकका पेशागत संघ संगठनका प्रतिनिधी र शिक्षा शाखा समेतको सहभागितामा तयार गरिएको शिक्षक दरबन्दी मिलान प्रतिबेदन विपरित नेपाल शिक्षक संघसंग कुनै पनि समन्वय नगरी एकलौटी मनोमानी ढंगले नीति विधि विपरीत पुरानै निर्णयलाई जबरजस्ती कार्यान्वयन गरेको भन्दै शिक्षक संघले आपत्ति जनाएको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले कानुनी उपचारमा जाने बताएको छ । भाद्र १० गते चार दल निकट शिक्षक संघ संगठनहरु सहितको नगरपालिकाले सर्वपक्षिय समिति गठन गरेको थियो । उक्त समितिले भाद्र २३ गते मेयर सुरेन्द्र विष्टलाई प्रतिबेदन बुझाएको थियो ।


संघले पत्रकार सम्मेलनमा नगरपालिकाले आवश्यक सुझाव सहितको प्रतिबेदन कार्यन्वयन गर्नुको साटो नगर प्रहरी परिचालन गरी विद्यालयहरुमा सरुवा पत्र बुझाउने गरेकोले कानुनी उपचार खोज्ने जानकारी दिएको हो । शिक्षक संघले नगरपालिका विरुद्ध प्रतिबेदन कार्यन्वयन गर्न सर्वोच्च अदालतमा रिट हाल्ने नेपाल शिक्षक संघका जिल्ला सचिव नविन सिंह धामीले बताए । नगरपालिकाले नीति विधि विपरित जवरजस्ती लादिएको निर्णयप्रति संघको घोर असहमती रहेको जानकारी दिदै पुरानै दरबन्दी भएको विद्यालयमा हाजिर लगाउने र नयाँ आएकोलाई हाजिर लगाउन नदिने सचिव धामीले बताए ।


भीमदत्त नगरपालिकाले यही असार ३१ मा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुको दरवन्दी मिलान गरेको थियो । शिक्षक संघले नगरपालिकाले शिक्षक दरबन्दी मिलानको नाममा नीति, विधि र ऐन नियम विपरित गरेको व्यक्ति मिलान भएको भन्दै एक महिनासम्म शिक्षा शाखामा तालाबन्दी सहित रिलेअनसन बसेका थिए ।







