दोधारा : सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त गस्तीको कार्य शुरु गरेका छन् । गौरा, तिहार लगाएतको चाड पर्वलाई मध्यनजर गरी सिमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गर्दै आएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियकवर) का ईन्चार्ज दान बहादुर बिष्टले जानकारी दिएका छन् ।


आज दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगरको नेपाल–भारत सिमा क्षेत्रको पिल्लर नम्वर ७९५/१७ देखि ७९६/१८ सम्म सशस्त्र प्रहरी र भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले दशगजा क्षेत्रमा सयुक्त गस्ती गरेका छन् । सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रण संगै सिमा स्तम्भको सुरक्षाका लागि संयुक्त गस्ती गर्दै आएको दुबै देशका सुरक्षाअधिकारीहरुले जनाएका छन् । चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवत जावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको बताईएको छ् ।

नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्दा एकआपसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने उनीहरुले बताएका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियकवर) का ईन्चार्ज दान बहादुर बिष्ट र भारतको तर्फ देखि भारतिय सिमा सुरक्षा बल (एसएसबी) कम्पनी हेडक्वाटर नौजलिया (उत्तर प्रदेश) का एरिया कमाण्डर शक्ती प्रसाद उन्यालको टोली रहेको थियो ।







