मेरो जीवनको अभिन्न टुकुरा साथी बनेको सधैँ
यौटा यो हतियार बुझ्दछु कुनै जो धारीलो हो अझैँ
साथी बन्छ अनेक दुःख सुखमा टिप्दै नयाँ भावना
पुजा गर्छु सदासदा कलम हो देवी भनी शारदा ।१।
मेरो मार्ग मिल्यो र आज यसले लेख्ने र सोच्ने भएँ
लेख्दा लेख जवाफमा पनि कुनै आशा म पर्ने भएँ ।
मात्रा वर्ण मिलाउदै अघि बढेँ बाटो म खोज्दै जब
यौटा शब्द सिकेँ बुझे कलमले कोर्दैछु बुट्टा अब ।२।

माला बुन्छु टिपेर अक्षरहरु साहित्यका बागमा
मेरो साथ दिने सखा कलम हो राखी सुधा चाखमा ।
ब्रह्मा विष्णु महेश देव अनि यी सङ्गै भए शारदा
बुझ्ने गर्छु सबै यिनी कलममा दाता विधाता सदा ।३।

सोझो मार्ग हिडाउने प्रिय सखा आफु म हुँ साधक
सच्चा प्रेरक हो कला संगसंगै मेरो यही बान्धव ।
कोर्दै हेर्छु यता मसी कलमको कोर्दै छ कस्तो कला
बुट्टा पार्छु जसोतसो पनि भने देखिन्छ सौन्दर्यता ।४।

पाउँ कोर्न सदासदा कलमले बुट्टा अनेकौँ यहाँ
टिप्दै शब्द मिलाउदै रस नयाँ भाका सुनौलो यहाँ
लागेका मनका मिठा र नमिठा टिप्दै छ जो भावना
नौलो ल्याउँछ जो विचार मनमा गदैँ सदा साधना ।५।

दीपिका कलौनी
दोगडा केदार गा.पा. ४ चौँगाउ, बैतडी
हाल : भीमदत्त नगरपालिका,उल्टाखाम,कञ्चनपुर
अध्ययनरत : श्री जनज्योती बहुमुखी क्याम्पस
(स्नातकोत्तर तह,नेपाली)






