कञ्चनपुर : भारतको बाटो हुँदै दार्चुला सदरमुकाम तुइनबाट महाकाली नदीमा आउँदै गर्दा भारतीइ एसएसबीका जवानले तुइन काटदा ३३ वर्षका जयसिंह धामीको खसेर बेपत्ता भएको भन्दै अनेरास्वयु कञ्चनपुरद्वारा गड्डाचौकी सिमानामा विरोध प्रदर्शन गरेका छन् ।


साउन १५ मा ब्यास गाउँपालिका वडा नम्बर–२ खाङदाङ मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय एसएसबीका जवानले तुइनको डोरी काटेपछि धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । ब्यास गाउँपालिका(२ माल बस्ने वर्ष ३३ का जयसिंह धामीको अवस्था अझै अज्ञात छ ।


अनेरास्वयु कञ्चनपुरले धामीको परिवारले छतीपुर्ति पाउनु पर्ने, घटनामा संलग्न एसएसबी जवानले कानुन अनुसार सजाय पाउनु पर्ने माँग राख्दै विरोध प्रर्दशन गरेका हुन् । प्रर्दशनको क्रममा अनेरास्वयुका केन्द्रीय सदस्य हेमन्त रेग्मीले ‘भारतको हेपाह दृष्टिले गर्दा पटक(पटक यस्तो समस्या भोग्नु परेको बताए । कहिले सिमामा गोबिन्द गौतम शहिद हुनु परेको छ भने कहिले जयसिंह धामी जस्ता निर्दोष व्यक्तिले ज्यान गुमाउनु परेको बताए ।’ त्यसैगरी अनेरास्वयुका केन्द्रीय सदस्य कमल रोकायाले ‘यो समस्या केवल दार्चुलाको मात्र नभएर नेपालकै समस्या हो यसरी हेपाह प्रवृतिको विरुद्ध हाम्रो आवाज भारतीय प्रधानमन्त्री मोदी र उत्तराखण्डका मुख्यमन्त्रीको कार्यालयले सुनोस भन्ने उद्देश्यका साथ संकेतिक विरोध प्रर्दशन गरेका बताए ।’


सो घटना अनुसन्धान र छानविनको क्रममा रहेको हुनाले दुई देशको सम्बन्धमा खल्ल पार्ने किसिमले प्रचार नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।






