कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । च्यारिटी हेल्थ फाउण्डेसन कैलाली संगको साझेदारीमा सहकारीले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । सर्वसाधारणलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन गरिएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताए । ‘सहकारीको उद्देश्य नाफा आर्जन गर्ने मात्र होइन’ उनले भने, ‘सामाजिक क्षेत्रमा समेत लगानी पनि गर्नु पर्छ । त्यही भावनाले प्रेरित भएर उपचार केन्द्र सञ्चालन गरेका छौं ।’

फाउन्डेसनले उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधी, जनशक्तिको व्यवस्थापन गरेको छ । सहकारीले उपचार केन्द्र सञ्चालनका लागि घर भाडा, विद्युत, खानेपानीको महशुल तिर्ने सम्झौता गरेको छ ।वैशाख महिना देखिनै सहकारीले उपचार केन्द्र सञ्चालन गर्ने लक्ष्य लिएको भएपनि कोरोनाको संक्रमण बढेपछि गरिएको बन्दाबन्दीका कारण विलम्ब गरी उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।उपचार केन्द्रबाट हुने आम्दानीबाट आँखा उपचारमा संलग्न प्राविधिकको तलव लगायतको सुविधा उपलव्ध गराईने व्यवस्था गरिएको छ ।विरामीको चाप अनुसार थप जनशक्ति थप्नु परेमा सहकारीले सम्पूर्ण खर्च व्यहोर्ने गरी राख्ने सहकारीका अध्यक्ष शिवराज भट्टले बताए । वैशाख महिना देखिनै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सम्झौता गरिएको भएपनि कोरोनाको बढ्दो संक्रमणका कारण सञ्चालनमा विलम्ब भएको उनले बताए ।

उपचार केन्द्रमा पुग्ने बिरामीको अब देखि निरन्तर रुपमा उपचार हुने उनको भनाई रहेको छ । सहकारीमा आबद्ध १३ हजार पाँच सय सदस्यलाई आँखा उपचारमा छुट दिने व्यवस्था समेते गरिएको छ । त्यसका लागि कार्ड बनाउने कार्य भैरहेको सहकारीका पदाधिकारीले जानकारी दिएका छन । केन्द्रमा उपचारका लागि आउने विरामीका लागि रु ५० दर्ता शुःल्क निर्धारण गरिएको छ । बाह्य क्षेत्र भन्दा निकै सहुलियत मूल्यमा उपचार केन्द्रबाट बिरामीलाई आवश्यक औषधी उपलव्ध गराइने बताईएको छ । नगरपालिका क्षेत्रमा आँखा उपचारको व्यवस्था नहुदा नगरबासीले टाढाको महेन्द्रनगर र धनगढी पुगेर चर्को शुःल्क तिरेर उपचार गराउदै आएका छन । झलारी बजारमै आँखा उपचार केन्द्र सञ्चालन भएपछि स्थानिय बासिन्दाले खुसि व्यक्त गरेका छन ।

च्यारिटी हेल्थ फाउण्डेसन फाउण्डेसन संगको सहकार्यमा सहकारीले गत महिना शुक्लाफाँटा नगरपालिका ९ मा आँखा शिविरको समेत सञ्चालन गरेको थियो । जसबाट तीन सय बढी आँखाका विरामी लाभान्बीत भएका थिए । शिविरमा विरामीको उपचार संगै निःशुल्क रुपमा चस्मा र औषधी वितरण गरिएको थियो । फाउण्डेसनको सहकार्यमा सहकारीले केही दिन भित्रै शल्यक्रिया सहितको बृहत्त आँखा शिविर सञ्चालन गर्ने योजना समेत बनाएको छ । फाउण्डेसनका कार्यक्रम संयोजक त्रिलोक पाण्डेयले उपचार केन्द्रबाट सहज र सुलभ रुपमा सर्वसाधारणलाई सेवा उपलव्ध गराइने बताएका छन ।
‘बाह्य क्षेत्र भन्दा औषधी र उपचारमा सहुलियत हुन्छ’ उनले भने, ‘गुणस्तरीय सेवा दिई नमूना बन्न चाहन्छौं ।’ शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले आँखा उपचार केन्द्रको मंलवार उद्घाटन गर्दै केन्द्रका लागि आवश्यक पर्ने सहयोग नगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन । सहकारीले निकट भबिष्यमै भवन निर्माण गरी उपचार केन्द्रलाई अस्पतालका रुपमा विकसित गर्ने योजना समेत अघि सारेको छ ।






