बडवाल टोलका बादी घरपरिवारलाई छाक टार्नै सकस


दोधारा : दोस्रो चरणको कोरोना भाईरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक गर्दै आएको काम बन्द भएका कारण दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवला टोलका बादी घरपरिवारमा साँझ बिहान हातमुख जोड्न समेत धौं धौं परेको छ । पहिलो चरणको कोरोना संक्रमणका बेला भएको बन्दाबन्दीको समयमा भारतमा रहेर केही समान्य काम गरे गुजारा चलाउदै आएको बडवाल टोलका बादी घरपरिवार गाँउ बस्तीमा माँगी खाने रोकिएपछि उनिहरुमा एक छाक खानाको लागी पनि निकै समस्या परेको उनिहरुले बताएका छन् ।

लकडाउनका कारण दैनिक काम गरेर परिवार पाल्ने बादी युवा घरमै बस्न बाध्य छन् । गाँउ बस्तीमा नाच गाना गरेर माग्न समेत कोरोना संक्रमणको कारण स्थानियहरुले रोक लगाएपछि बडवाल टोलको बादी घरपरिवारलाई दैनिक गुजारा चलाउन समेत निकै समस्या पर्दै आएको बादी परिवारका अगुवा बिरमाने बादीले बताए । ‘बस्तीमा गएर मागी खाने काम बन्द भएपछि महिलाहरु बेलबखत गाँउ बस्तीमा गएर धान रोपेर साँझ बिहानको गुजारा चलाउने गर्ने गरेका छन्’ बादी परिवारका अगुवा बिरमाने बादीले भने । बडवाल टोलमा ९ घरपरिवार बादीका रहेका छन् । जसमा झण्डै ३० जनाका संख्यामा बादीहरु बस्दै आएका छन् । उनिहरु यतिबेला जगबुडा नदीमा माछा मारेर जिविका चलाउदै आएका छन् । बेलबखत ज्याला मजुरी गरेर समेत उनीहरुको चुल्हो जल्ने गरेको बिरमाने बादीले बताए । तत्कालिन माओबादी द्धन्द्धकालमा भागेर भारत छिरेका उनिहरु केही महिना अघि मात्रै आफ्नो जग्गाको खोजीमा दोधारा चाँदनीको बडवाल टोलमा आएका थिए ।

उनिहरु केही महिना सम्म बडवाल टोलको एक सडक छेउमा टेन्ट लगाएर आफुहरुले छाडेर गएको जग्गा पाउ भन्दै स्थानिय सरकार संग माँग राख्दै आएका थिए । उनिहरुको माँगलाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिकाले उनिहरुलाई घरबाँसको लागी जग्गाको ब्यवस्था गरेको हो । घर बनाउने जग्गा सरकारले दिएपनि चुल्हो जलाउने पिडा भने उनिहरुमा ज्युको त्युँ छ् । उनीहरुलाई चुल्हो कसरी बाल्ने भन्ने चिन्ताले सताएको उनीको भनाई रहेको छ् । माछा मारेर र दिन भरी मजदुरी गरेर पेट पाल्ने परिवारमा भोक भोकै बस्नुपर्ने अवस्था आएको रेशम बादीले बताए । लामो समय देखि सामाजिक उपेक्षामा परेका बादी समुदायको दिनचर्या पछिल्लो समय झन कष्टकर बन्दै गएको छ् । दोधारा चाँदनी बडवाल टोलमा बस्दै आएका बादी घरपरिवार त्रिपालको मुनि जिवन गुजार्न बाध्य छन् । त्रिपाल मुनी बस्दै आएका बादीहरु बास र खाने गाँसको चरम समस्या झेल्न वाध्य छन् ।

यही सडक भएर नेतृत्व तहमा रहेका व्यक्तिहरु आहोरदोेहोर गर्छन् । तर बादी घरपरिवारको पीडाका बारेमा हाल सम्म कसैले पनि चाँसो देखाएका देखिदैन् । सडकको छेउमै रहेको सरकारी जमीनमा उनीहरु बस्दै आएका छन् । आज दोधारा चाँदनी नगरपालिकाको एतिहासिक सातौं नगर सभा सम्पन्न भएको छ् । सभाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागी जम्मा रु. ६२ करोड १५ लाख १३ हजार रकमको बजेट प्रस्ताव गरेको छ् । तर बजेटमा बादी घरपरिवारको लागी कुनामा पनि सम्बोधन गरिएको छैन् । हावाहुरी, पानी संगै सर्पको डर रहेको स्थानमा खानपानको चरम अभावमै दिन बित्दै आएको छ् । उनीहरु नेपाली नागरिकता भएर पनि नेपाली नभएको आभाष गर्दै आएका छन् । बादी घरपरिवार जिवन निर्वाह र आधारभूत आवश्यकता पुरा गर्नका लागि अहिले आएर आफ्नो परिवार पाल्न निकै कठोर संघर्षमा छन् । गाँउ बस्ती चाहेर पीडाका गीत सुनाएर माँगी खाने बादी घरपरिवार अहिले नयाँँ जिवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छन् ।

तर उनिहरुको यो जिवन जिउने रणनिती सपना मात्रै भएर आएको छ् । पश्चिम नेपालमा बसोबास गर्ने बादी समुदाय दलित जाति भित्रको सीमान्तकृत समुदाय हो । नेपालको जनगणना २०६८ का अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गरी यो समुदायको कुल जनसंख्या ३८ हजार छ् । यो समुदायका नागरिक पश्चिम नेपालका विभिन्न जिल्लामा स–सानो संख्यामा बस्दै आएका छन् । भनिन्छन् १४ सय शताब्दीमा राजा रजौटाहरुको मनोरञ्जनका लागि नेपाल ल्याईएका बादी समुदायले लामो समय देखि वाद्यवादन र नाचगानलाई आफ्नो पेसा बनाएका हुन् । तत्कालीन राजा रजौटा र जमिनदारलाई मनोरञ्जन दिन बादीलाई प्रयोग गरिन्थ्यो । आधुनिकता संगै बादी समुदायको वाद्यवादन र नाचगान पेशा छाँयामा पर्दै गयो । देशका विभिन्न भागमा मनोरञ्जन दिने सञ्चार माध्यम स्थापना भएपछि उनीहरुको पेसा संकटमा परेको देखिन्छ् । देशकै सानो समुदायकोरुपमा रहेको बादी समुदायको संरक्षण गर्दै उनिहरुको जिवनशैली परिवर्तन गर्न सहयोग गर्नु राज्य पक्षको प्रमुख दायित्व हुनआउछ् । सरकारले आफ्नो जनताहरुको गाँस, बाँस, कपास संगै शिक्षाको ग्यारेन्टी लिन पर्छ् । बडवाल टोलमा खाना र बस्नको अभावमा पिल्सीरहेका बादी घरपरिवारलाई स्थानिय सरकार र यहाँ क्रियाशिल गैरसरकारी संघ संस्थाको ध्यान किन नगएको हो ? सबैले समयमै गम्भिर हुन आवश्यक छ् ।


ताजा समाचार

spot_img