कञ्चनपुर: कोरोना महामारीले नागरिक आक्र्रान्त भईरहेका बेला नागरिकको सुरक्षामा खटिनुको साटो कञ्चनपुरका एक जनप्रतिनिधी काठ तस्करीमा संलग्न भएको रहस्य खुलेको छ । बेदकोट नगरपालिका १० का वडा सदस्य डम्बर भट्ट काठ तस्करीमा संलग्न भएको रहस्य खुलेको हो । जनप्रतिनिधी भट्टलाई शुक्लाफाँटा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले पक्राउ गरेको छ । उनलाई काठ तस्करी गरेको आरोपमा घर नजिकै गाडेको अवस्थामा २१.२२ क्यूफिट काठ सहित पक्राउ गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्ज स्रोतले उनी जनप्रतिनिधी भएकाले पक्राउ गरिएपछि छाड्नका लागि दवाव आएको थियो । ‘उहाँ त जनप्रतिनिधी हुँदो रहेछ, ‘निकुञ्ज कर्मचारी स्रोतले भन्यो, ‘यो महामारीका बेला काठ तस्करी गर्दा रहेछन ।’ जनप्रतिनिधी नै काठ तस्करीमा संलग्न भएपछि उनको चौतर्फि बिरोध भईरहेको छ । महामारीका बेला काठ तस्करीमा कुनै सर्वसाधारण पक्राउ परे सम्बन्धीत वन कार्यालयबाट वडा जनप्रनिधिको रहोबरमा छाड्दै आएका थिए । महामारीका बेला जनप्रतिनिधी आफै काठ तस्करीमा संलग्न भएपछि कसको रहोबरमा छाडियो भन्ने चर्चा चलेको छ । नागरिक स्तरबाट काठ तस्करीमा संलग्न जनप्रतिनिधी माथि कार्बाही गर्न माग गरिएको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले महामारीका बेला नागरिकको सुरक्षामा खटिनुको साटो गैर कानुनी गतिबिधीमा सलग्न भए नभएको बारेमा अध्ययन गरिने बताए । ‘महामारीका बेला वा जुनसुकै समयमा पनि जनप्रतिनिधी गैर कानुनी काममा संलग्न हुने विषय दुखत हो, ‘उनले भने, ‘जनताप्रति उत्तरदायी नभएको देखिन्छ ।’ जनप्रतिनिधी पक्राउ परेको विषयमा वनमन्त्रीमा सत्ताधारी एमाले नेता नारदमुनी राना नियुक्त भएकै समयमा सघीय सत्ताधारी पार्टीबाट निर्वाचित जनप्रतिनिधी पक्राउ प्रकरणले वर्तमान सरकार वन, वन्यजन्तु संरक्षणमा उत्तरदायी हुनुको साटो दोहनमा लागेको चित्रण गरिएको छ ।







