डोटी – डोटीको आदर्श गाउँपालिका-१,चासी भन्ने ठाउका कोरोना संक्रमितलाई साईन नेपालले पौष्टिक आहार सहित औषधि वितरण गरेको छ । बिहिवार १ सय २० जना कोरोना संक्रमितका लागि साईन नेपालका अध्यक्ष भक्तराज जोशी सहितको टिम स्वास्थ्य सुरक्षाका मापदण्ड सहित सोही गाउँमा गई पौष्टिक आहार र औषधि वितरण गरेको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए । संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रती व्यक्ति १ प्याकेट प्रोटिन, २ प्याकेट काजु ,मल्टी भिटामिन, भिटामिन सि ,२ किलो चना, १ पोका तोरीको तेल र १ क्यारेट अण्डा वितरण गरेको साईन नेपालका अध्यक्ष जोशीले जानकारी दिए ।

संस्थाका अध्यक्ष जोशीले संक्रमितको स्वास्थ्य अवस्था र पौष्टिक आहार वितरणका लागि ट्रेक्टर र पैदलको कष्टकर यात्रा गर्दै सो क्षेत्रमा पुग्दा पनि स्थानीय जनप्रतिनिधिको उपस्थित नदेख्दा आफुलाई निकै खिन्नता बोध भएको बताए । उनले यस क्षेत्रको शिक्षा ,स्वास्थ्य,आयअर्जन,आपतकालिन राहत, कोभिड महामारी न्यूनीकरण जस्ता सहयोगका लागि आफू निरन्तर तत्पर रहने उपस्थित व्यक्तित्वहरु माझ बताएका थिए । त्यस्तै संस्थाका कोषाध्यक्ष तथा स्वास्थ्यकर्मी मेघराज भट्टले संक्रमितहरुलाई वितरण गर्ने औषधीको विषयमा जानकारी गराउदै स्वास्थ्य परामर्शका साथै मनोबल उच्च राख्न अनुरोध गरेका थिए ।

उक्त पौष्टिक आहार सहितको औषधि बुझ्दै गाउँपालिकाका स्वास्थ्य प्रमुख बमबहादुर खड्काले निकै कठिनाइका बाबजुद पनि बस्तीमै पुगि सहयोग गर्नुभएकोमा साईन नेपाललाई स-धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्दै सहयोगको अपेक्षा राखेको बताए । उनले चासीमा अहिले जम्मा ९० जना कोरोना संक्रमित रहेको जानकारी दिए । त्यसै गरि बाकी सामाग्री भने सोही वडामा नयाँ थपिएका संक्रमितलाई वितरण गरिने स्वास्थ प्रमुख खड्काले बताए । संक्रमितहरुलाई होम आईसोलेशनमै छन भने उनीहरुको स्वास्थ्य अवस्था बुझ्न गाउँमै स्वास्थ्यकर्मी परिचालन गरि पालिका र प्रहरीको सहायताले सो बस्ती नै शिल गरिएको छ ।

