बाजुरा- नेपालको ७७ औं जिल्ला भनेर बाजुरालाई चिनिन्छ । अझै बाजुरा जिल्लाको पनि अति नै बिकट पालिका हिमाली गाउँपालिका हो । यहि हिमाली गाउँपालिकामा फलफुलका बिरुवा रोप्ने घरपरिवारलाई चामल दिने नियम लागू गरेको छ । सदरमुकाम देखि करिब ७५ किलोमिटरको दुरीमा उत्तरपुर्वी भागमा रहेको सो पालिकाले फलफुलको एक बिरुवा रोपे बापत ५ किलो चामल नि:शुल्क दिने नियम लागू गरेको हो । खेती योग्य जमिनको अभावले वर्ष भरी पुग्ने खाद्यान्न उब्जाउ नहुदा भोकमरी सिर्जना हुने यश क्षेत्रका स्थानीयहरुको फलफुल खेती तर्फ आकर्षण बढाई जिवनस्तर सुदृढ गर्न पालिकाले यस्तो नियम लागू गरेको गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले जानकारी दिए ।

” यस वर्ष मात्रै स्याउ, ओखर, कागती,अनार र आँपका ७९ हजार बिरुवाहरु पालिका भित्रका सबै वडामा रोपिएको छ ” अध्यक्ष मल्लले भने “५० हजार बोट गाउँपालिकाले चामल दिने शर्तमा रोपिए भने बाकी पालिकाले रोपेको हो ।” अध्यक्ष मल्लले यस क्षेत्रका स्थानीयको आयआर्जनमा वृद्धि गरि जिवनस्तर सुधार गराउन गाउँपालिकाले विभिन्न पर्यत्नहरु गर्दै आएको बताउदै चामलकै लोभले पनि फलफुल खेती गर्नेको संख्या ह्वात्तै बढेको बताए ।

७ वटा वडा रहेको उक्त गाउँपालिकामा करिब दुई हजार घरधुरी र १७ हजार कुल जनसंख्या रहेको पालिकामा तथ्यांक छ । वरपर अग्ला- अग्ला कडा चट्टाने पहाडले घेरिएको सो पालिका हुम्ला र मुगु जिल्लासंग सिमाना जोडिएको छ भने किनारामा कर्णाली नदि बगेको छ । आम्दानीको निकै सम्भाव्यता रहेको यो पालिका प्राकृतिक र भौगोलिक सुन्दरताले निकै रमणीय देखिएपनि सडक संजालको समस्याले यस क्षेत्रको अस्तित्व गुमेको देखिन्छ ।

