कञ्चनपुर: नागरिक कोरोना संक्रमित भई अक्सिजन नपाएर मृत्युको मुखमा पुगेका बेला महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि ठूलो रकम कमिसनको खेल भएको छ । झण्डै डेढ करोड लागतमा हुने काम अस्पतालले ३ करोड २६ लाख वाला बोलपत्रदाता बिआरटी ईन्टरनेशनलाई दिन खोजेपछि विवाद भएको हो । त्यो भन्दा कम स्नेहा सोप एण्ड केमिकल ईन्डष्ट्रिज प्रालिले १ करोड ७९ लाखमा अक्सिजन प्लान्ट जडानका लागि टेण्डर हालेका थिए । अर्को कम्पनी टेक्निकल एसोसेट सर्भिर प्रालीले ३ करोड ६३ लाखमा टेण्डर राखेका थिए ।

तीन कम्पनी मध्ये सबैभन्दा कम कबुल अंक राख्ने कम्पनी भन्दा बढि अंक राख्नेलाई ठेक्का दिन खोजेपछि विवाद भएको छ । अक्सिजन प्लान्ट जडानका लागि अस्पतालले खोलेको टेण्डरमा तीन मात्रै कम्पनीका आवेदन परेका छन । महामारीका बेलामा समेत कसिमनको चलखेल भएको भन्दै नागरिक स्तरबाट बिरोध भईरहेको छ । अक्सिजन प्लान्ट मात्र होईन अक्सिजन प्लान्टका लागि भवन निर्माणमा समेत विवाद देखिएको छ । अक्सिजन प्लान्ट जडानका लागि स्थानीय स्तरबाट स्नेहा सोप एण्ड केमिकल ईन्डष्ट्रिज प्रालिले समेत टेण्डर हालेका थिए । स्नेहाका सोप एण्ड केमिकल ईन्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक पिताम्बर जोशीले ४५ दिन माग गरेको थियो तर, आफ्नो कम्पनीलाई अक कबुल अंक भएकाले टेण्डर दिन नमानेको बताए । ‘मैले त आफ्नो जिल्लाका जनताको जिवन रक्षाका लागि सोचेर छोटो समयमै अक्सिजन प्लान्ट जडान गर्न खोजेको थिए, ‘उनले भने, ‘तर नेपालका कर्मचारीको काम गर्ने शैली बुझ्दै गाह्रो भयो ।’ अक्सिजन प्लान्टको भवन निर्माणका लागि पनि तीन कम्पनीले मात्रै टेण्डर खरिद गरेका छन ।

न्यून जोशी कस्ष्ट्रक्सनले ३८ लाख ९९ हजार, नेशनल कस्ष्ट्रक्सन कम्पनीले ४० लाख २२ हजार र ग्रिस्पा कन्स्ट्रक्सन प्रालिले ३६ लाख ६३ हजारको बोलपत्र हालेका थिए । त्यहाँपनि सबैभन्दा कम कबुल अंक हालेका ग्रिस्पा कन्स्ट्रक्सन प्रालिले ठेक्का नपाएपछि विवाद भएको हो । गिस्पा कन्स्ट्रसक्न प्रालिका संचालक किशोर रावलले आफ्नो कम्पनीले ठेक्का सदर भएपनि कर्मचारीले अनेकन जालझेल गरेर ठेक्का नपर्ने मान्छेलाई दिएको बताए । ‘मैले त्यहाँ केही समय अघि काम गर्दा माग अनुसार कमिसन दिएन, ‘उनले भने, ‘अहिले मेरै ठेक्का सदर हुँदापनि अनेकन षड्यन्त्र गरेर अर्कोलाई ठेक्का दिलाउन खोजियो ।’ महामारीका बेलामा ठूलो रकम हिनामिना गर्ने भन्दै स्थानीयले बिरोध गरेका हुन । स्थानीय एव नेवि संघ नेता लोचन कार्कीले महाकारीका बेलामा पनि कमिसनका कारण जनताको स्वास्थ्यमाथि खेलवाड भईरहेको बताए । स्थानीय एव नेवि संघका अर्का नेता ईन्द्र साउदले महाकाली अस्पतालमा कोरोना रोकथामको साटो चरम भ्रष्टाचार भएको दावि गरेका छन । अक्सिजन प्लान्ट जडानका लागि तीन कम्पनीका विभिन्न प्रमाण नपुगेको र भवन निर्माणका लागि ग्रिस्पाको बैक ग्यारेन्टी कम भएको जनाएको छ ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अक्सिजन प्लान्ट जडानका लागि आएका तीनै कम्पनीका प्रमाण अपुग र पुग भएका कम्पनीले बढि समय मागेपछि अस्पताले पुन सूचना जारी गर्ने बताए । ‘यसमा हामीले भन्नु केही छैन, ‘उनले भने, ‘यो महामारीका हामी सबै इमान्दारितापुर्वक काम गरिरहेका छौँ, केही शंका छैन ।’ स्थानीय नागरिकले कोरोना महामारीका बेला कमिसन भन्दा नागरिकको जिवन सुरक्षामा ध्यान दिएर जिम्मेबारी निर्वाहमा सुझाव दिएका छन । अस्पताल प्रशासनले पूर्व तयारी नगर्दा नागरिकले अक्सिजन नपाएर धमाधम ज्यान गुमाईरहेको भन्दै कमिसन भन्दा काममा ध्यान दिन आग्रह गरेका छन ।






