कञ्चनपुर : कोरोना महामारी नियन्त्रणका लागि कञ्चनपुरमा लकडाउन गरिएको छ । लकडाउनका कारण मानिस घरबाट बाहिर निस्किएका छैनन् तर, जिल्लाको दक्षिण क्षेत्र बेलौरीमा तस्करी ह्वात्तै बढेको छ । भारतसंग सीमा जोडिएको बेलौरीका चार स्थानमा सशस्त्र प्रहरी बलका स्थायी बिओपी छन । त्यसैगरि कोरोना नियन्त्रणका लागि अस्थायी टहरा बनाएर सशस्त्र प्रहरी बसेका छन । तर, भारतबाट दिनदाहडै धमाधम समान तस्करी भईरहेको छ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल भएपनि कतिपय अवस्थामा सशस्त्र प्रहरीले तस्करमा समान पक्राउ नगरेपछि नेपाल प्रहरीले विचगाँउबाट समान बरामद गर्दै आएको छ । यसलाई स्थानीयले तस्करसंग सशस्त्र प्रहरी मिलोको बताउँदै आएका छन । बेलौरीका स्थानीय दिपक शाहीले सशस्त्र प्रहरीले तस्करसंग मिलोमतो गर्दा लकडाउनमा पनि तस्करी बढेको बताए । नेपाल प्रहरीले ५ जेठमा बेलौरी नगरपालिका ६ विद्यानगरबाट मलखाद, छाता, बिडी, सूर्ति लगायतका विभिन्न समान बरामद गरि भन्सार बुझाएको थियो । ‘सीमा क्षेत्रमा शसस्त्र प्रहरी बल छन, ठाँउ ठाँउमा बिओपी छन, ‘दिपक शाहीले भने, ‘तर भारतबाट सीमा भएर आएको समान विच गाँउबाट प्रहरीले समात्छ, सशस्त्रले समात्दैन ।’ बिहीबार भारतबाट तस्करीको समान ल्याएर आएका एक तस्करको समान बरामद गर्न आएका सशस्त्र प्रहरी र स्थानीयविच झडप भएको छ । गयराती बेलौरी नगरपालिका १ बैशाखीमा सशस्त्र प्रहरी र स्थानीयविच झडप भएको हो ।

बैशाखीका स्थानीय राजु शाहीले से१प४९२५नक्बरको मोटरसाईकलमा समान ल्याउँदै गर्दा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी जवान छडक बहादुर चौधरीलाई ठक्कर दिएर भागेपछि उनलाई समात्नका लागि सशस्त्र प्रहरी गाँउतिर आएका थिए ।सशस्त्र प्रहरीलाई ठक्कर दिने व्यक्ति र समान बरामदका लागि बैशाखीमा रहेका शाहीको घर घेराउ गरेपछि स्थानीयले सशस्त्र प्रहरीमाथि प्रतिकार गरेका थिए । सीमा क्षेत्रमा के भयो हामीलाई थाहा छैन, रातीको विचमा आएर घर घेराउ गर्दै महिलामाथि अभद्र व्यवहार गरेको स्थानीय दिपेन्द्र शाहीले बताए । ‘हामी राजु शाहीका छिमेकी हौँ, ‘उनले भने, ‘रातीको विचमा एक्कासी ठूलो संख्यामा सशस्त्र प्रहरी आए, हामी के भयो भनेर गए, त्यहाँ सशस्त्र प्रहरी निरीक्षक कृष्ण अधिकारीले मदिरा सेवन गरेर महिलामाथि अभद्र व्यवहार गर्दै थिए, हामीले पनि प्रतिकार गरे, उतबाट समेत कुटपिट भयो ।’ सशस्त्र प्रहरीले मोटरसाईकल र समान बरामद गर्दा स्थानीयले ढुङ्गामुढा प्रहार गर्दा सशस्त्र प्रहरीका अर्का जवान सोमतराम चौधरी घाईते भएका छन ।

स्थानीय शाहीका अनुसार सशस्त्र प्रहरीले आफु सहित बिर्ख शाही, नारायण शाही सहितका स्थानीयमाथि कुटपिट गरेको बताए । स्थानीयले सशस्त्र प्रहरी जस्तो जिम्मेबार संगठनले सीमा क्षेत्रमा तस्करसंग भएका वाद विवाद लेनदेनमा रातीको विचमा गाँउमा आएर महिलामाथि गाली गलैच गरेको भन्दै कार्बाहीका लागि इलाका प्रहरी कार्यालय पुगेका छन । सशस्त्र प्रहरी बल बोर्डर आवट पोष्ट(थापा चोक)का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक कृष्ण अधिकारीले भारतबाट तस्करी गरेर समान ल्याएका राजु शाहीले डियुटीमा खटिएका सशस्त्र प्रहरी जवानमाथि ठक्कर दिएर फरार भएपछि उनको खोजिका लागि आएको र व्यक्ति फरार भएपनि समान र मोटरसाईकल बरामद गरेर ल्याउँदा स्थानीयले उल्टै सशस्त्र प्रहरीमाथि ढुङ्गा मुढा प्रहार गरेर घाईते बनाएको बताए । स्थानीले लगाएजस्तो आरोप सशस्त्र प्रहरीले मदिरा सेवन गरेर कसैमाथि पनि दुव्र्यवहार नगरेको उनले बताए ।
कोरोना महामारीका बेला सशस्त्र प्रहरीले तस्करमाथि कार्बाही गर्दा स्थानीयले सहयोग गर्नुको साटो सहयोग गरेको सशस्त्र प्रहरीको गुनासो छ । तर, स्थानीयले भने ठूला तस्करबाट सशस्त्र प्रहरीले महिनावारी लिएर तस्करी गराउने र घरसायी प्रयोजनका लागि समान ल्याउन बरामद गर्ने परम्पराले पटक पटक सीमा क्षेत्रमा झडप हुने गरेको बताए । बेलौरी नगरपालिका १का वडाध्यक्ष रतन बहादुर शाहीले घटनाक्रम बुझेर समाधान गरिने बताए । ‘मैले पनि यो घटना बुझ्दै छु, ‘वडाध्यक्ष शाहीले भने, ‘कसबाट गल्ती भयो, त्यो बुझ्ने अघि बढ्छौँ ।’






