कञ्चनपुर,
“प्रार्थना गर्ने ओठहरू भन्दा सेवा गर्ने हातहरू पवित्र हुन्छन् ।” – मदर टेरेसाकाे यो भनाइले वास्तवमा सेवा भाव जागृत गर्दछ । अहिले विश्व कोभिड – १९ को दोस्रो भेरिअन्ट बाट त्रसित भएको छ । यसबाट नेपाल पनि अछुतो छैन । यही संकटको घडीमा मानवीय सहायता तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत निड्स नेपाल कञ्चनपुरले महाकाली अस्पताललाई अक्सिजन सहितका स्वास्थ्य सामग्री सहयोग गरिएको छ।

मंगलबार केयर नेपालको सहयोगमा निड्स नेपालले १३ लाख मूल्य बराबरका अक्सिजन सिलिन्डर सहित स्वास्थ्य तथा सरसफाइ सामग्री एक कार्यक्रमका साथ अस्पताल लाई हस्तान्तरण गरेको छ । कार्यक्रममा जिल्ला विपद् सम्पर्क व्यक्ति कृष्णानन्द जोशी र महाकाली अस्पतालका मे.सु. डा. हरिकुमार श्रेष्ठले यस्तो अप्ठ्यारो परिस्थितिमा निड्स नेपालले गरेको यस प्रकारको सहयोगले “कोभिड-१९” को प्रभावलाई कम गर्न ठूलो सहयोग पुग्ने र विपद् प्रतिकार्यमा निड्स नेपालले सदैव अग्रणी भूमिका खेलेकोले धन्यवाद प्रदान गर्नुभयो ।

उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला विपद् सम्पर्क व्यक्ति कृष्णानन्द जोशी, अस्पताल व्यवस्थापन समिति सदस्य तथा “कोभिड-१९” संयोजक किरण भट्ट, अस्पतालका मे.सु. डा. हरिकुमार श्रेष्ठ, निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्ट, उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशी, कार्यकारी निर्देशक भवराज रेग्मी, टिम लिडर नीरज कुमार थारु, विनोद कडारा, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव रामसिंह ठगुन्ना लगायतको उपस्थिति रहेको थियो ।








