महेन्द्रनगर

भारतबाट आउने नेपाली हरुकालागि गड्डाचौकी नाकामा व्यवस्थीत होल्डीङ क्वारेन्टाईन निर्माण कार्य सम्पन्न भएको छ । सुदूरका ९ वटै जिल्ला र अन्य जिल्लाकालागि गरी छुट्टा छुट्टैरुपमा व्यवस्थीत गरी निर्माण गरिएको होल्डिङ्ग क्वारेन्टाईन भोली बुधबारदेखी सञ्चालन गरिने भएको छ । भीमदत्त नगरपालिका, निड्स नेपाल र श्रीदल गण भगतपुरको सहकार्यमा होल्डिङ्ग क्वारेन्टाईन निर्माण गरिएको हो ।

बैशाख २० गते देखि निर्माण कार्य सुरु गरिएता पनि दु्वैपटक हावाहुरीका कारण क्षती हुन पुगेको थियो । अहिले अस्थायीरुपमा व्यवस्थीत तरिकाले निर्माण गरिएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए । श्रीदल गण भगतपुरका सेनानी प्रतिक कार्कीका अनुसार भीमदत्त नगरपालिकाले ग्राभेल, बाँस, तथा निड्स नेपालले त्रिपाल, कुर्सि, खानेपानी, शौचालय लगायतका अन्य निर्माण सामग्री सहयोग गरेको छ । त्यसैगरी गणको जनशक्ति प्रयोग गरिएको सेनानी कार्कीले बताए । गड्डाचौकी नाका भएर भित्रिने नेपालीहरुका लागि नाकामै स्वास्थ्य परिक्षणको व्यवस्था समेत भीमदत्त नगरपालिकाले मिलाएको छ । नाकामै हेल्थ्य डेस्क स्थापना गरेर एन्टिजेन परिक्षणपछि सम्बन्धीत स्थानमा पठाउने गरिएको छ । एन्टिजेन पोजिटीभ आएकाहरुलाई आईसिएचको भवनमा राख्ने गरिएको छ ।

मौसम प्रतिकुलताले होल्डिङ्ग निर्माणमा ढिलाई भएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । ‘यसअघि दुईपटक निर्माण गरिएको होल्डिङ्ग हावाहुरीले उडाउदा क्षती भयो ’ उनले भने ‘ अहिले व्यवस्थीतरुपमा निर्माण सम्पन्न गरेका छौ ।’ नगर प्रमुख विष्टले स्थायी प्रबृत्तिको होल्डिङ्ग सेन्टर निर्माणको योजनामा नगरपालिका लागेको बताए । ‘कोरोना महामारी मात्रै होईन भुकम्प, बाढि र हावाहुरीबाट हुने क्षतीको अवस्थामा समेत काम लाग्ने गरी होल्डिङ्ग सेन्टर निर्माण गर्ने योजनामा जुटेका छौ’ नगर प्रमुख विष्टले भने । हाल गड्डाचौकी नाकाबाट दैनिक २ देखि ३ सय जना नेपालीहरु भित्रिने गरेका छन ।






