कञ्चनपुर

शुक्लाफाँटा नगरपालिकाका कोरोना संक्रमित विरामीलाई अस्पताल पुरयाउनका लागि एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ । कोरोना महामारीका विच एम्बुलेन्स सेवा निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था मिलाईएको छ ।

नगरपालिकाको आज बसेको १०२ औं कार्यपालिकाको बैठकले नगरपालिका अन्र्तगत रहेको पिपलाडी स्वास्थ्य चौकीको एम्बुलेन्स कोरोनाका विरामी बोक्नका लागि प्रयोग गर्ने निर्णय गरेको छ । नगर प्रमख दिल बहादुर ऐरलेले एम्बुलेन्स मर्मत खर्च, इन्धन नगरपालिकाबाटै उपलव्ध गराउने व्यवस्था मिलाईएको बताए । ‘एम्बुलेन्स चालकलाई नगरपालिकाले जोखि भत्ता र आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराउने निर्णय समेत गरेको छ’ उनले भने, ‘एम्बुलेन्स प्रयोग गरेवाफत पिपलाडी स्वास्थ्य चौकीलाई आगामी आबको बजेटमा रु दुई लाख ५० हजार थप अनुदान रकम उपलव्ध गराईने छ ।’ एम्बुलेन्स सेवा सञ्चालनका लागि वडा नं ४ का वडा अध्यक्ष ज्ञान बहादुर बिष्टलाई फोकल पर्सनका रुपमा तोकेको छ । यसैगरी, नगरपालिकाको से १ ग ७९ नम्बरको टिप्परलाई शव बाहनका रुपमा प्रयोग गर्ने व्यवस्था समेत गरेको छ ।

शव बाहन तथा सरसफाईमा खटिने कर्मचारीलाई थप जोखिम भत्ता उपलव्ध गराईने समेत भएको छ । पिसिआर गर्ने र भिटीएम पुरयाउने कार्यमा संलग्न कर्मचारीहरुलाई जोखिम भत्ता र आश्यकता अनुसार स्वास्थ्य शुरक्षा सामग्री समेत प्रदान गरिने नगर प्रमुख ऐरले बताए । आवश्यक स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्न रु तीन लाख र पिसिआर गर्न आवश्यक भिटिएम खरिद गर्न रु तीन लाख रकम विपद् कोषबाट खर्च गर्ने नगरपालिको निर्णय गरेको छ । पिसिआर परीक्षण गर्नका लागि प्रत्येक हप्ताको मंलवार र शुक्रवार पिपलाडी स्वास्थ्य चौकीलाई स्थानका रुपमा तोकिएको छ ।
कोरोना भाइरस रोग संक्रमण रोकथाम, जोखिम न्यूनिकरण तथाा अन्य आपतकालिन व्यवस्थापन गर्ने प्रयोजनका लागि कार्यपालिकामा निहित अधिकार प्रत्यायोजन हुने गरी नगर प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । नगरपालिकामा कोरोनाका कारण पाँच जना बढीले ज्यान गुमाई सकेका छन । चालिस बढी संक्रमितको होम आइलासेलेसन र महाकाली अस्पतालमा रहेका छन ।






