कञ्चनपुर
कञ्चनपुरका आरक्षपीडित विस्थापित परिवारको पूर्नस्थापनका लागि सरकारले नेकपा एमाले युवा नेता सुरेन्द्र बमलाई संयोजकमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयले आरक्षपीडितको समस्या समाधान गर्नका लागि कञ्चनपुरका एमाले युवा नेता बमलाई ३० औँ आयोगको संयोजकमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुरुप वन मन्त्रालयले बमलाई आयोगको संयोजकमा नियुक्त गरेको हो । संयोजक बमको अध्यक्षतामा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख मालपोत अधिकृत, प्रमुख नापी अधिकृत, डिभिजन वन अधिकृत, कोषतथा लेखा नियन्त्रण प्रमुख र सदस्य सचिवमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई आयोगको पदाधिकारी बनाउने नीतिगत व्यवस्था रहेको छ । वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरक्षण विभागले संयोजक बमलाई दिएको नियुक्ती पत्र वनमन्त्री प्रेम आलेले हस्तान्तरण गरेका थिए । एक बर्षका लागि कार्यदल गठन गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारको अझैसम्मपनि पूर्नस्थापना नहुँदा उनीहरु खुला आकासमा बस्न बाध्य भएका थिए । ०७४ सालमा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमाले नेता नर बहादुर धामीले चुनावका बेला जनतासंग आरक्षपीडितको समस्या समाधान गर्ने प्रतिबद्धता अनुरुप छुट्टै आयोग गठन गरिएको छ ।
प्रतिनिधी सभा सदस्य सदस्य धामीले आरक्षपीडितको दिगो समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगले वास्तविक पीडितको समस्या समाधान गर्न सुझाव दिए । ‘आरक्षपीडितले मानिस भएर पनि नरकिय जिवन बाध्य भएका थिए, ‘संसद धामीले भने, ‘अब न्यूनतम उचित ढङगबाट समस्या समाधान गर्नुपर्छ ।’ नयाँ समितिले उचित ढङगले पीडितको पीडा सम्बोधन गरेर न्याय दिनुपर्ने बताए । सरकारले आयोग गठन गरे अनुरुप समितिले क्रियात्मक रुपमा अघि बढ्न सुझाव दिए । आरक्षपीडित नवनियुक्त आयोगका अध्यक्ष सुरेन्द्र बमले सरकारले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरे । लामो समयदेखि पुर्नस्थापनाको पखाईमा रहेका आरक्षपीडितको समस्या समाधानका लागि सरकारले आयोग गठन गरेसंगै पीडितले समस्या समाधान हुने आशा व्यक्त गरेका छन ।