कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिका ४ (रिछाहा) कि २२ बर्षिया नेपाली चेलीको भारतमा रहस्यमय मृत्यु भएको छ । विवाहित स्थानीय मोली रानाकी श्रीमती भागरती रानाको भारतमा रहस्यमय तवरले मृत्यु भएको हो । यही चैत ६ गते घरदेखि हराएकी महिलाको १० गते साझ एकाएक मृत्युको खबर सुनिएको उनका श्रीमान मोली रानाले बताए । उनका अनुसार श्रीमती हराएको बारे ८ गते इलाका प्रहरी कार्यालय बेलौरीमा निवेदन दर्ता गराएका थिए । उता, प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा भारतको लखीमपुर जिल्ला, थाना सम्पुर्णानगर, ग्राम गोविन्दनगरका स्थानीय अन्दाजी ३० बर्षिय विक्रम कुमार भारतीय प्रहरीको नियन्त्रणमा छन् ।

भारतीय नागरिक विक्रम कुमार र मृतक भागरतीको केही समय पहिले देखि नै सम्पर्क रहेको बुझिएको छ भने घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए । मृतकका बुवा सुब्बा राना भन्नुहुन्छ – “घटना के कसरी घट्यो यसको सत्य तथ्य छानबिन गरि दोषी उपरकार्वाही गरियोस् ।” यस्तै मृतकका श्रीमानले घटनाको प्रकृति हेर्दा बलात्कार पछि हत्या भएको हुन सक्ने बताए। उनले भने – “श्रीमतीको क्रुरहत्या गर्ने अपराधीलाई कार्वाही गरियोस्। ” भारतीय नागरिक विक्रम कुमारले श्रीमतीको गरगहना लुट्न बलात्कार पछि हत्या गरेको हुन सक्ने उनले बताए । उनले भने -“श्रीमतीले तिलहरी, जन्तर,नाक र कानमा फुली गरि दुई / तीन तोला सम्म गहना लगाएकी थिएन् सबै लुटिएको छ ।”

उक्त घटनाको खबरसुने पछि घटना स्थल पुगेका उनका आफन्तलाई भारतीय प्रहरीले पोष्टमार्टम रिपोर्ट नआउदैं जबरजस्ती शव बुझ्न दबाब दिएको बताइएको छ । भने भारतीय प्रहरीको दबाबमा उनका आफन्तले शव बुझेर नेपाल ल्याएका छन् । यस्तै परिवार र आफन्तले घटनाको सत्य तथ्य छानबिन गरि दोषी उपर कडाभन्दा कडा कार्वाहीको माग अघि सारिरहेका छन् । मृतकका एक छोरा र एक छोरी छन् ।
