एक बर्षदेखि महेन्द्रनगर– दिल्ली, देहरादुन चल्ने नेपाल भारतमैत्री बस थन्किए

बैंकको किस्ता तिर्न नसक्दा व्यवसायी घाटामा सस्तोमै बस बेच्दै, यात्रु मारमा


कञ्चनपुर
एक बर्ष देखि कञ्चनपुरमा नेपाल भारत मैत्री बस सेवा ठप्प भएको छ । कञ्चनपुरको महेन्द्रनगर देखि भारतको दिल्ली, देहरादुन संचालन हुने नेपाल भारत मैत्री बस सेवा ठप्प भएको हो । गत बर्ष कोरोना संक्रमण फैलिने भन्दै फागुन अन्तिम सातादेखि नै नेपाल भारत मैत्रीबस संचालन बन्द गरिएको थियो । १० चैत्र ०७६ देखि अन्र्तराष्ट्रिय नाका बन्दका साथै लकडाउन गरिएपनि त्यस अवागै कञ्चनपुरमा मैत्री बस बन्द गरिएका थिए । सरकारले अन्र्तराष्ट्रिय उडान र असोज देखि आन्तरिक यातायात सेवा खुला गरेपनि नेपाल भारत मैत्री बस संचालन बारे हालसम्म पनि कुनै निर्णय नगर्दा मैत्री बस संचालन आउन नसेका छैनन । बर्ष दिन देखि बस संचालन नभएपछि यातायात व्यवसायी प्रत्यक्ष मारमा परेका छन । महेन्द्रनगर देखि महाकाली यातायात बहुउद्देशीय कम्पनी प्रालि र पवनदुत बस व्यवसायी कम्पनीका मैत्रीबस भारतको दिल्ली र देहरादुन सम्म संचालन हुँदै आएका थिए ।

चैत्र पहिलो साता सम्ममा पनि महाकाली पवनदुत दुवै यातायात कम्पनीबाट बस संचालन हुन नसक्दा व्यवसायी र यात्रु मारमा परेका छन । भारतीय पक्षबाट बनबासा–गड्डाचौकी नाका भारततिर पुरै खुला गरिसकेको छ । भारतमा नेपाल नम्बर प्लेटका साना तथा ठूला सवारी साधन निर्वाध संचालन भईरहेका छन । तर, नेपाल तर्फ यस बारेमा मात्र नभई नाका सहज संचालनमा समेत कुनै निर्णय नहुँदा व्यवसायीका सवारी साधन बस घर, बसपार्क र सडक छेउमै बर्ष दिन देखि थन्किएका छन । लामो समयदेखि बस संचालन हुन नसक्दा सवारी साधन बिग्रन थालेका छन । एकातिर बस खरिद गरेको रकम बाफतको किस्ता तिर्नका लागि व्यवसायीलाई समस्या परेको छ, भने अर्कोतिर थन्किएको बस बिग्रीदै गएको छ । बसमा जालो भएको छ । बसका टायर पनि बिग्रीन थालेका छन । पवनदुत बस व्यवसायी कम्पनी प्रालिका उपाध्यक्ष एव रुट संयोजक महेश बोहराले एक बर्षदेखि व्यवसायीका बस सडकमै थन्किएको बताए । ‘कोरोना कहरले सबैभन्दा बढि हामी यातायात व्यपसायी मारमा परेका छौँ, ‘उनले भने, ‘बैंकको ब्याज तिर्न समेत धौउधौउ भईरहेको छ ।’ सरकारले बिमामा मात्रै छुट गरेपनि बैंक तथा वित्तिय संघ संस्थाले ताकेदा गर्दा व्यवसायी तनावमा रहेको बताए । ‘बस संचालन हुन नसक्दा बैंकलाई किस्ता तिर्न धौउ धौउ भएको छ, ‘उनले भने, ‘जमिन बिक्रि आफ्नै बस बिक्रि एव अन्य स्रोतबाट किस्ता गर्नुपर्ने बाध्याता छ ।’ भारतमा निर्वाध रुपमा खुला गरेपनि हालसम्म मैत्रीबस संचालन नहुँदा व्यवसायी समस्यामा परेको बताए । ‘हामी आर्थिक रुपमा समस्यामा परेका छौँ, ‘उनले भने, ‘तर यात्रुलाई पनि समस्या भएको छ, सिधै महेन्द्रनगर बसपार्क देखि दिल्लीका लागि छुट्थे, अब विच विचमा सवारी साधन फेरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।’ पवनदुतको दैनिक एक दिल्ली एक देहरादुन मैत्रीसेवा थियो ।

महाकाली यातायात बहुउदेशीय कम्पनी प्रालिका अध्यक्ष डम्बर दत्त पन्तले भारतमा एक महिना पहिलादेखि नै अन्र्तराष्ट्रिय नाका खुला एव सहज भएपनि नेपालतर्फ नहुँदा समस्या भएको बताए । ‘हाम्रो यहाँ लकडाउन हुनु दुई साता अघि नै बन्द गरियो, ‘उनले भने, ‘उता भारतरित सबै क्षेत्र खुलिसके नाका पनि सहज गरिसकेको छ, तै पनि हाम्रो तर्फ समस्या उस्तैछ ।’ नाका र बस संचालन नहुँदा प्रंत्यक्ष मारमा व्यवसायी, यात्रु सहित नेपालका अन्य व्यवसाय समेत मारमा परेको बताए । ‘यो नाका दिल्लीका लागि सबैभन्दा छोटो दुरीमा छ, ‘उनले भने, ‘भारतबाट बर्षनी लाखौँ पर्यटक नेपालका धार्मिक तथा ऐतिहासिक क्षेत्रमा आउँथे, तर मैत्री बस संचालन नहुँदा आउँदैनन ।’ बस थन्किएका कारण व्यवसायीलाई किस्ता तिर्न समस्या भएकोले जमिन खरिद गरेको बस कम मुल्यमा बेच्न बाध्य भएको बताए । यातायात व्यवसायी मदन नाथले ५६ लाखमा खरिद गरेको बस ४५ लाख र भगत विष्टले ५२ लाखमा खरिद गरेको बस २८ लाखमा बिक्रि गरेको बताउदै उनले यातायात व्यवसायीका पीडा कसैले नबुझिदिएको बताए । ‘हामीलाई बैंकको ब्याज, किस्ता धौउधौउ छ, ‘उनले भने, ‘बैंक तथा वित्तिय संस्थाले पुर्न: कर्जा भनेर उल्टै हामी माथि थप आर्थिक भार पारिरहेको छ, यहाँ बसं संचालन हुन नसकेका छैनन ।’ भएका साधन पनि बिग्रीन थालेको बताउदै उनले मर्मतमै लाखौँ खर्च लाग्ने दुखेसो पोखे । अध्यक्ष पन्तले महाकाली यातायातका दैनिक दिल्ली ६ र देहरादुन २ बस संचालन हुँदै आएका थिए । भारतीय तर्फबाट समेत उत्तराखण्ड र प्रदेश यातायात निगमका बस संचालन हुँदै आएका थिए ।

महाकाली यातायात बहुउदेशीय कम्पनी प्रालिका सचिव देवराज जोशीले यातायात संचालन हुन नसक्दा बस कुहिन लागेको बताए । ‘हाम्रा बस एक बर्ष सडककै थन्किएका छन, ‘उनले भने, ‘एकातिर बस बिग्रीए अर्कातिर कुलतमा बस्ने युवाको लागु औषधका अड्डा बसेका छन ।’ राष्ट्र बैंकको मौदिक नीति अनुरुप व्यवसायीलाई पाईने सहुलियत कर्जा नभएको उनको दुखेको छ । सिधै बस सचालन नहुँदा यात्रुलाई समेत सीमा क्षेत्रमा अनेकन झन्झट खेप्नु परेको उनले बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले कोरोनाबाट सिङ्गो अर्थतन्त्र नै धरासायी बन्दै गएको बताउदै उनले नेपाल भारतमैत्री बस र सीमा क्षेत्र निर्वाध संचालनमा जोडदिए । अध्यक्ष मल्लले यातायात व्यवसायी लगायत अन्य व्यवसायीका पिरमर्का बारेमा पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराएपनि वेवास्ता गरिएको बताए । ‘भारततिर पुरै खोलिसक्यो, उताबाट मानिस निर्वाध पहिलेदेखि गईरहेकै छन, यताबाट उता पनि गईरहेका छन, तर सीमा नाका र बस बन्द हुँदा व्यवसायी र मात्रु मारमा परेका छन, ‘उनले भने, ‘यस बारेमा सरकारले यथाशिघ्र नाका निर्वाध र बस संचालन गर्नु निर्णय गर्नुपर्छ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सरकारले कुनै निर्णय नगर्दा नाका खुलाउन र सवारी साधन संचालनमा समस्या भएको बताए । ‘यहाँको नाका अहिलेकै मौजुदा अवस्थामा छ, ‘प्रजिअ महतोले भने, ‘नाका खुल्ने बारे कहिले के हुन्छ, थाहा हुदैन ।’


ताजा समाचार

spot_img