महेन्द्रनगर

लोकसेवा आयोग दिपायल केन्द्रबाट शनिवार महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरूमा सञ्चालन भएको प्रहरी जवान पदको लिखित परीक्षामा २५ जना नक्कली परीक्षार्थी भेट्टिए । तर कञ्चपुर प्रहरीले २२ जना नक्कली परीक्षार्थीको नाम मात्रै सार्वजनिक ग¥यो । महेन्द्रनगरबाट प्रहरी जवान पदको लिखित परीक्षामा २३ जना पक्राउ परेको तर एक जना भने पक्राउ परेको तीन घण्टापछी पुनः चेकजाँच तथा परिक्षण गर्दा सक्कली नै भेटिएर छोड्नु परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीको तर्क छ ।

नक्कली परीक्षार्थी २५ जना भएपनि २२ जनालाई मात्रै कञ्चनपुर प्रहरीले पक्राउ गरेको, दुई जना फरार रहेको र एक जना पुनः चेकजाँच गर्दा लोक सेवा आयोग दिपायल केन्द्रले सक्कली नै ठहर गरेर छोडेको प्रहरी स्रोतको दाबी छ । तर कञ्चनपुर प्रहरीको यो दाबी संग लोकसेवा आयोग दिपायल केन्द्रको मत बाझिएको छ । लोक सेवा आयोग दिपायल केन्द्रले कुनै पनि परीक्षार्थीलाई आफ्नो कार्यालयले नछोडेको जनाउदै आएको छ । ‘२४ जना नक्कली परीक्षार्थी भेट्टिएका हुन् ।, ती मध्ये दुई जना फरार लिस्टमा छन् ।’ लोक सेवा आयोग दिपायल केन्द्र प्रमुख बिष्णु पौडेलले भने ‘हामीले कुनै पनि परीक्षार्थीलाई नक्कली भनेर ल्याएर पुनः सक्कली ठानेर छोडेका छैनौं ।’ कञ्चनपुर प्रहरीले शनिवार पक्राउ परेका उक्त नक्कली परीक्षार्थी २२ जना मात्रै भनेर सञ्चार माध्यममा सूचना प्रवाह गरेको थियो । यद्यपी दुई फरार रहेको भन्ने सूचना नै कञ्चनपुर प्रहरीले लुकाएको पाइन्छ ।

लोक सेवा आयोग र प्रहरीको मत एक आपसमा बाझिन थालेपछि मात्रै दुई जना फरार र एक जना पुनः चेक जाँच गर्दा सक्कली भेटिएर छोडेका कुरा सतहमा आएका हुन् । महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट नक्कली भनेर पक्राउ परेका एक जना परीक्षार्थीको नाम कञ्चनपुर प्रहरी र केन्द्राध्यक्षले खोल्न मानिरहेका छैनन् । जुन परिक्षार्थीलाई परिक्षा सञ्चालन भएको २२ मिनेट पछि नक्कली भनेर पक्राउ पश्चात तीन घण्टा पछिको सोधपुछ , फोटो र हस्ताक्षर मिलान पछि सक्कली नै भनेर लोकसेवा आयोगले छोड्न लगाएको प्रहरीको दाबी छ । ती परिक्षार्थीको शिलशिलामा कुरा बुझ्दा लोकसेवा आयोग दिपायल केन्द्रका प्रमुख पौडेलको समेत पटक–पटक बोली फेरिएको छ । पहिलो चरणमा उहाँ सगं कुरा बुझ्दा उक्त परीक्षार्थीले फोटोमा ढाका टोपी लगाएको र परीक्षाहलमा त्यो नभेट्टिए पछि अलमलमा परेको हुँदा नक्कली भनेर पक्राउ गरेको तर पछि फोटो र हस्ताक्षर मिलाउदा सक्कली परिक्षार्थी ठहरिएपछि छोड्नु परेको बताइएको छ ।
त्यहि शिलशिलामा प्रमुख पौडेलले पुनः सक्कली ठहरिएका परिक्षार्थी पास पनि हुने ठोकुवा गरेको स्रोत बताउछ । तर पछिल्लो समय सोमवार मात्रै पुनः लोक सेवा आयोग दिपायल केन्द्रका प्रमुख पौडेललाई नै बुझ्दा कुनै पनि परीक्षार्थीलाई सक्कली ठानेर नछोडेको बताइएको छ । यो घटनामा प्रहरी समेत आफैमा चुकेको प्रष्ट हुन्छ । २५ जना नक्कली परीक्षार्थी भटिएकोमा २२ जनाको नाम मात्रै सञ्चार माध्यममा दिनु र बाँकि रहेका तीन जनाको विवरण नखुलाउनु कञ्चनपुर प्रहरीको कमजोरी पक्ष ठहरिन्छ । पक्राउ परेका २२ जना बाहेकका बारेमा कुनै मुचुल्का समेत नउठाइएको पाइन्छ । सोमवार सम्म बाँकि तीन जनाको नाम समेत खोल्न नमानेको प्रहरीले मंगलवार फरार सूचिमा रहेका दुई जनाको नाम खोलेको छ । फरार रहने नक्कली परीक्षार्थीमा बिन्दास ऐरी र दिपेस बहादुर ऐरी रहेको प्रहरी प्रवक्ता थापा क्षेत्रीले बताए ।
तर नक्कली भनेर पक्राउ पछि सक्कली परीक्षार्थी नै निस्केका एक जनाको भने प्रहरीले अझै नाम खोलेको छैन् । यो नक्कली परीक्षार्थी पक्राउ प्रकरणमा कञ्चनपुर प्रहरी र लोक सेवा आयोग दिपायल केन्द्रले नियतबस बदमासी गर्न खोजेको कञ्चनपुरका स्थानीयको आरोप छ । पक्राउ परेका २२ जना र फरार रहेका दुई जनालाई किर्ते नियमावली अनुसार मुद्दा लगाइने प्रहरी प्रवक्ता थापा क्षेत्रीले बताए । पक्राउ पर्नेमा कैलालीको कैलाली गाउँपालिका–३ का १८ वर्षीय अविनाश चौधरी, २० वर्षीय लेखराज चौधरी, विशाल चौधरी, दार्चुलाको मार्मा गाउँपालिका–३ का गोकुल धामी, २४ वर्षीय दिनेश महरा, बझाङ मष्ठा गाउँपालिका–४ का १९ वर्षीय अजय कठायत, वर्ष १८ का बलराम कठायत, २० वर्षीय कमल कठायत, वर्ष १८ का प्रविन कठायत, बझाङ तल्कोट गाउँपालिका–३ का लोकराज जोशी रहेका छन्।
यसैगरी धनगढी उप–महानगरपालिका ४ का वर्ष १८ का विपिन चौधरी, सोही उप–महानगरपालिका–५ का लक्ष्मण चन्द, वर्ष १८ का सागर बहादुर देउवा, बझाङको तल्कोट गाउँपालिका २२ वर्षीय दिनेश खाती, वर्ष १९ का नविन जोशी, कैलालीको टीकापुर नगरपालिका–२ का वर्ष १८ का सागर बोहरा छन् । बझाङ थलारा गाउँपालिकाका वर्ष २० का शिवराज नेपाली, दुर्गाथली गाउँपालिका–५ का वर्ष २० का कृष्ण कठायत, १९ का विक्रम बोहरा, बुंगल नगरपालिका–७ का वर्ष २२ का विमल बोहरा र २० का जीवन बोहरालाई प्रहरीले शनिवार नै पक्राउ गरेको हो ।






