मिडिया एक्सनको सुदुरपश्चिम संयोजकमा उमाकान्त जोशी चयन

कञ्चनपुर

अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको अध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि पन्त अध्यक्षमा चयन भएका हुन् भने सुदूरपश्चिम प्रदेशको संयोजकमा पत्रकार तथा सुदूरपश्चिम विश्वविद्यालयमा अध्यायपन गराउदै आएका शिक्षण सहायक उमाकान्त जोशी चयन भएका छन् । जोशी कञ्चनपुरको विभिन्न मिडियामा आवद्ध रहेर काम गदै आएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न मिडिया एक्सन नेपालको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट पन्तको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सो अवसरमा आयोजित छलफल कार्यक्रममा वरिष्ठ पत्रकार धुव्रहरि अधिकारीले समग्र मिडियाले निष्पक्ष तथ्य समाचारलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्नुपनेमा जोड दिए । उनले मिडियाबाट हुने कमी कमजोरीलाई आत्मसाथ गर्दै सुधार गर्नुपर्ने बताए । यसैगरी प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले पत्रकारिता क्षेत्रमा विकृति बढ्दै गएको र यसलाई सुधार्नका लागि नियमन गर्ने संस्था त छँदैछ त्यसबाहेक पत्रकार स्वयंले पनि जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिए । उनले मिडिया एक्सन नेपालले पछिल्लो समयमा गरेको मिडियासम्बन्धी अनुसन्धानले यस क्षेत्रमा सुधार ल्याउन सहयोग पुग्ने बताए ।

यसैगरी प्रेस काउन्सिलका प्रमुख कार्यकारी अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहितामा रहेर काम गर्नुपर्ने भए पनि अहिले पनि मिडिया क्षेत्रमा धेरै भ्रामक र उत्तेजनात्मक सामग्री आउने गरेको बताए । उनले कतिपय अनलाइन दर्ता नै नभई सञ्चालन भइरहेको र तिनले दिने सामग्री नियमन गर्न गाह्रो पर्ने गरेको जानकारी दिए ।
उता राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले मिडियामा आउने सामग्रीले सधैं सूचना मात्र नदिई कहिलेकाहीं समाजमा झनै त्रास फैलाउने गरेको बताए ।

उनले कोरोना महामारीका बेला अनेक खालका मनोमानी हिसाबले सूचना दिंदा नागरिक त्रसित बनेको भन्दै इन्फोडेमिकको शिकार हुन पुगेको प्रसंग निकालेका थिए ।शनिबार सम्पन्न अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष लक्षणदत्त पन्तले मिडिया एक्सन नेपालले नेपाली मिडिया स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनेपर्ने म्यान्डेट सहित अघि बढेकाले सोही बमोजिम विभिन्न छलफल, अध्ययन अनुसन्धान जस्ता कार्यक्रम गर्दै आएको बताए । साथै यस संस्थाले अन्तरािष्ट्रय स्तरमै यस्ता छलफल, नीति निर्माणमा समेत सहयोग पुग्ने गरी कार्यक्रमहरु आयोजना गरिरहेको जानकारी दिए ।

शिनबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा प्रियंका झा,सचिवमा आरती शिल्पकार,कोषाध्यक्षमा दीपा केसी चयन भएका छन्। सदस्यहरुमा यम बहादुर दूरा, गणेशप्रसाद घिमिरे र आशिष मिश्र चयन भएका छन् । यसैगरी संस्थाले ७ वटै प्रदेशमा संयोजक समेत चयन गरेको छ । प्रदेश १ मा ढकाल, प्रदेश २ मा हदिस खुद्दार, बागमती मधुसुदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सन्जु पौडेल, कर्णलीमा ललित बुढा र सुदूरपश्चिममा उमाकान्त जोशी चयन भएका छन्।

ताजा समाचार