शुक्लाफाँटा महोत्सव भुवनले जिते साइकल ‘रेस’को उपाधि

कञ्चनपुर
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा आयोजित चौथो शुक्लाफाँटा महोत्सवका अवसरमा बुधबार आयोजित खुला साइकल रेस प्रतियोगिताको उपाधि भुवन बिष्टले चुमेका छन् । भीमदत्त नगरपालिका– ३ का भुवनले १४ प्रतिष्प्रधिलाई फराकिलो दुरीले पछिपार्दै पहिलो स्थान हासिल गरेका छन् । त्यस्तै भीनपा– ३ कै अमृत धामीले दोस्रोस्थान प्राप्त गर्न सफल भए । प्रतियोगितामा भीनपा– ४ वैजनाथ उमाविमा अध्ययनरत अशोक धामी तेस्रो स्थान हासिल गर्न सफल भएको आयोजक भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष कर्णबहादुर चन्दले जानकारी गराए ।

यसै गरी भीनपा– ९ का कृष्णसिंह बुढाले चौथो स्थान हासिल गर्दै सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । आयोजक भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष चन्दका अनुसार पहिलो स्थानदेखि सान्त्वनासम्म क्रमशः सात हजार, पाँचहजार पाँचसय, चारहजार र दुई हजार पाँचसय नगद तथा प्रमाणपत्र प्रदान गरिने छ । उनिहरुलाई यहि फागुन १५ गते समापन समारोहमा पुरस्कृत गरिने छ ।

साइकल रेस महाकाली नदिमा रहेको दक्षिण एशियाकैं लामो झोलुङ्गे पुलदेखि पिपरैया हात्तीसार हुदैं भीनपा– १३ र १४ छुदैं रानाथारु समुदायको होमस्टे भएर भीनपा– १६ मझगाउँको एअरपोर्टस्थित नेपाल प्रहरीको अस्थाई विटमा सकिएको थियो । प्रतियोगितामा पहिलो चरणमा सहभागि भएका करिब ५० जना मध्ये छनोट भएका १५ जनाले सहभागिता जनाउने मौका पाएका थिए । यसमा दुई जना महिलाले पनि सहभागिता रहेको भीनपाका प्रशासकीय अधिकृत शुभाष अधिकारीले जानकारी गराए ।

यसअघि मंगलबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रङ्गणमा पर्यटकीय सम्भावनाहरुको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज शिर्षकमा वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा भीनपाका सामुदायिक तथा संस्थागत गरि २३ जना छात्रछात्राले सहभागिता जनाएका थिए ।

ताजा समाचार