कञ्चनपुरको लालझाडीमा किशोरी उपाध्यक्ष आत्म सुरक्षा तालिम सञ्चालन

कञ्चनपुर

कञ्चनपुरको लालझाडीमा बुधबारदेखि किशोरी उपाध्यक्ष आत्म सुरक्षा तालिम सञ्चालन गरिएको छ । पछिल्लो समयमा बालिका तथा किशोरीहरू माथि हुने हत्या, हिंसा, बलात्कार तथा यौन दुर्व्यवहारका घटनाहरूमा वृद्धि भएको पाइएकोले आत्म सुरक्षाका लागि तालिम सञ्चालन गरिएको लालझाडी गाउँपालिकाकी उपाध्यक्ष सत्यदेवी महराले जानकारी दिनुभएको छ ।

लालझाडी गाउँपालिकाको लैंगिक समानता तथा सामाजिक सुरक्षा उपशाखाले आयोजना गरेको उक्त तालिम यही फागुन १८ गतेसम्म सञ्चालन गरिने उपशाखा प्रमुख मानमति ओझाले बताउनु भयो । आत्मरक्षाका लागि किशोरीहरूलाई दिइने तालिमले केही हदसम्म आपराधिक घटनाहरूमा न्यूनीकरण आउने लालझाडी गाउँपालिकाकी कानुनी सल्लाहकार एवं अधिवक्ता कौशल्या ओझाले विश्वास व्यक्त गर्नुभयो ।

लालझाडी गाउँपालिकाका सबै वडाहरूबाट प्रतिनिधित्व रहने गरी विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरूको तालिममा सहभागिता रहेको छ । तालिममा खेल प्रशिक्षकद्वय लिलाधर भट्ट र विनिता विकले समेत प्रयोगात्मक र सैद्धान्तिक विषयमा प्रशिक्षण दिने बताइएको छ ।

ताजा समाचार