कञ्चनपुर
कञ्चनपुरका पत्रकार चित्राङ्ग थापा गोतामे पत्रकारिता पुरस्कारका लागि छनौट भएका छन । स्वर्गीय गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार यस वर्ष सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका पत्रकार चित्राङ्ग थापालाई दिने निर्णय भएको हो ।
गोपालचन्द्र गौतम प्रतिष्ठानको सोमवार सम्पन्न बैठकले २०७७ सालको पुरस्कार पत्रकार थापालाई दिने निर्णय गरेको प्रतिष्ठानका सचिव केसी लामिछानेले बताए। एक तोला सुनको तक्मा पुरस्कार रहेको स्व गौतमको वार्षिक पुण्यतिथिको अवसरमा आउँदो २ फागुन आइतवारका दिन कार्यक्रमको आयोजना गरी वितरण गरिने सचिव लामिछानेले बताए। स्व गौतमको सम्झनामा प्रतिष्ठानले २०६८ सालदेखि पुरस्कार निरन्तर वितरण गर्दै आएको छ ।

पहिलो पुरस्कार १० हजार राशिबाट शुरू भएको पुरस्कार २०७२ सालदेखि आधा तोला सुनको तक्मामा परिणत भएको थियो भने २०७५ सालदेखि एक तोला सुनको तक्मामा परिणत भएको छ । कान्तिपुर दैनिक सुदूरपश्चिम ब्यूरो इन्चार्ज पत्रकार थापा तीन दशकदेखि पत्रकारिता गर्दै आएका छन । अहिलेसम्म यो पुरस्कार मकवानपुरका पत्रकार प्रताप विष्ट, विराटनगरका पत्रकार मोहन भण्डारी, बुटवलका पत्रकार डिआर घिमिरे, राजविराजका पत्रकार शिवहरि भट्टराई, झापाका पत्रकार स्व मदन ढकाल, पाल्पाका पत्रकार मेघराज शर्मा, सप्तरीका पत्रकार भोला पासवान, भैरहवाका पत्रकार अर्जुन ज्ञवाली, झापाका पत्रकार केशव आचार्यले प्राप्त गरिसकेका छन् ।







