कञ्चनपुर,

सुदूरपश्चिम प्रदेशका विद्यार्थी संगठनले प्रस्तावित गेटा मेडिकल कलेज सरकारी स्तरबाटै संचालनको माग अघि सारेका छन । सात विद्यार्थी संगठनले सोमबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै गेटा मेडिकल कलेजलाई तत्काल मेडिकल विश्वविद्यालय घोषणा गरेर शैक्षिक कार्यक्रम संचालनको नमूना तयार गरि आगामी वर्ष देखि प्रारम्भिक चरणको पठनपाठन सुचारु गर्न माग गरेका हुन ।

अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश सिह ऐरी ,अखिल क्रान्तिकारी सेती महाकाली संयोजक बिरेन्द्र शाह, राप्रपा निकट विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष एव सुप प्रदेश इन्चार्ज उमेश विष्ट, समाजवादी विद्यार्थी यूनियन केन्द्रीय सचिव भरत लिसानी, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य पुष्कर जोशी र अखिल छैठौँका सुप प्रदेश सदस्य पुष्कर भट्टद्वारा संयुक्त रुपमा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा प्रस्तावित गेटा मेडिकल कलेज स्थापनार्थ सुदुरपश्चिमेली जनताको धेरै ठूलो त्याग र संघर्ष रहेको स्मरण गराउँदै हाल सम्म पनि मेडिकल कलेज संचालनको सन्दर्भमा राज्यले देखाएको उदासिनता र गैर जिम्मेवारीपनको हामी भत्सर्ना र निन्दा गरेका छन ।

‘प्रस्तावित गेटा मेडिकल कलेजको प्रक्रिया अगाडी बढाउने सन्दर्भमा शैक्षिक कार्यक्रम संचालनको मोडेल अझै तयार भएको छैन, ‘विज्ञप्तीमा भनिएको छ, ‘अहिले आएर मेडिकल कलेजको रुपमा अगाडि बढाउने वा छुट्टै स्वायत्त प्रतिष्ठान बनाएर संचालन गर्ने भन्ने विषय छ्लफल भएको देखिन्छ ।’ पुरानो विश्वविद्यालय प्रणाली अन्तर्गतको मेडिकल कलेज वा शिक्षा क्षेत्रको दायरा फराकिलो बनाउन नसक्ने प्रतिष्ठानको रुपमा नभई सुदुरपश्चिम मेडिकल विश्वविद्यालयको रुपमा अगाडि बढाउन सान्दर्भिक र वैज्ञानिक हुने विद्यार्थी संगठनको धारणा छ ।
नेपालमा एउटा पनि मेडिकल विश्वविद्यालय नभएको सन्दर्भमा सुदुरपश्चिमका करिब ३० लाख जनताको स्वास्थ्य तथा चिकित्सा शिक्षा, रोजगार र आर्थिक समृद्धि सङ्गै राष्ट्रिय गौरवको रुपमा समग्र देशलाई नै दुरगामी टेवा पुर्याउने गरि अघि बढाउनुपर्ने विद्यार्थी संगठनको सुझाव छ ।






