कञ्चनपुर

कञ्चनपुरका दुई पालिका जोड्ने दोदा नदीमा झोलुङ्गेपुल पुल निर्माण भएको छ । लालझाडी गाँउपालिका १ बिनबारी र पुर्नवास नगरपालिका २ अमरैया जोड्ने दोदा नदीमा झोलुङ्गे पुल निर्माण भएको हो । शुक्रबार एक कार्यक्रमका विच प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, पुनर्वास नगर प्रमुख जिवन थापा र लालझाडी गाँउपालिका प्रमुख मदनसेन बडायकले संयुक्त रुपमा उद्घाटन गरेका छन । उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य एव नेकपा सचेतक तारालामा तामाङ्गले जनताको आवश्यकता अनुरुप पुल निर्माण भएको बताए ।

पुनर्वास गाँउपालिका प्रमुख जिवन थापा र लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले स्थानीय सरकारले दोदा नदीमा तीन पुल निर्माणका लागि संघीय सरकारमा प्रस्ताव माग गरेको बताएका छन । स्थानीय सरकारको पहलमा दोदा नदीमा पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन । स्थानीयका अनुसार लालझाडी गाँउपालिकाको पहलमा पुल निर्माण भएको हो । पुल निर्माणसंगै स्थानीय हर्षित भएका छन । लालझाडीका स्थानीय पदम रानाले गाँउपालिका प्रमुख मदनसेन बडायकले चुनावमा जनतासंग गरेका बाचा पुरा गर्न लागेको बताए । स्थानीय रानाले भने, ‘लालझाडी गाँउपालिका प्रमुख ज्यूले उतिबेला हामीले राखेको माग सुने, आज पुरा गरेरै छाडे ।’ हामी लालझाडीबासीलाई पुनर्वास, बेलौरी, बेलडाँडी लगायत भारतीय क्षेत्रमा जानका लागि पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए ।

अर्का स्थानीय पार्वती सुनारले पुल निर्माणसंगै खोला तनुपर्ने बाध्यता हटेको बताए । ‘हामीलाई दैनिक कामकाज एव घरयासी कामका लागि यताउता जानुपर्दा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो, ‘उनले भनिन, ‘आज त्यो हटेको छ ।’ स्थानीय अगुवा गोपाल रेग्मीले पुल निर्माणसंगै स्थानीयको समाजिक आर्थिक एव साँस्कृतिक गतिबिधीमा सहजता आएको बताए । पूर्वाधार विकास कार्यालय मार्फत निर्माण भएको पुलको लम्बाई २सय मिटर रहेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी खेमराज भट्टले झण्डै १करोड ९९लाख लागतमा पुल निर्माण भएको बताए । ‘पुल समयमै निर्माण भएको छ, ‘सूचना अधिकारी भट्टले ‘पुल निर्माण भएसगै स्थानीयलाई सहज भएकोछ ।’
