दोधारा

महाकाली नदी माथीको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ् । पुल मर्मतका लागी माहाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । भोली र पर्सी दुई दिनको लागी दैनिक बिहान ११ः३० देखि अपरान्ह ३ बजे सम्मका लागी पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीद्धारा जारी सुचनामा भनिएको छ् ।

‘अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुलको मर्मत गर्नु परेको हुदा आवत जावत नगरी झोलुङ्गे पुलको मर्मत कार्यमा आवश्यक सहयोग गरिदिनहुन अनुरोध गरिएको छ्’ माहाकाली नगरपालिका कार्यालयले प्रकाशित सुचनामा भनिएको छ् । गत वर्ष मात्रै जीर्ण पुलको सुदूरपश्चिम सरकारले रु. ६० लाख खर्चेर ठेक्का प्रकृया माफर्त मर्मत गरेको थियो । डडेल्धुराको खाम्पाचेर देब भूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्स अमरगढी–५ जेभीले पुल मर्मतको ठेक्का लिएको थियो ।

पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः मर्मत गर्नु पर्ने अवस्थामा पुगेको छ् । माहाकाली नगरपालिकालाई जोड्ने डेढ मिटर चौडाईको पुलको लम्बाइ एक हजार ४ सय ५२ मिटर छ् । नेपालमा रहेका सबै प्रकारका पुल मध्ये यो पुल नै सबै भन्दा लामो पुल हो । विसं २०६१ सालमा रु. ९ करोड ४२ लाख ४१ हजारमा पुल निर्माण गरिएको थियो । सो पुल एसियामै लामो झोलुङ्गे पुलका रुपमा परिचित छ् । पुल ३२.७ मिटरका ७ ओटा अग्ला टावरमा ठड्याइएको छ् ।






