कञ्चनपुर,
कञ्चनपुरका संचारकर्मीले स्वदेशमै रोजगारीमा जोड दिएका छन । निड्स नेपालले बुधबार महेन्द्रनगरमा कञ्चनपुरका सञ्चारकर्मी संग सुरक्षित आप्रवास सम्बन्धी सवाल कार्यक्रममा छलफल गर्दै स्वदेशमै रोजगारीका अवसर जुटाउनुपर्नेमा जोडदिएका हुन ।
भारतमा कार्यरत नेपाली मजदुरको सुरक्षाका साथै उनीहरुको वैकल्पिक रोजगारीको प्रबन्ध गर्नुपर्नेमा समेत सुझाव दिएका छन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस “कोडिभ-१९ ” का कारण भारतमा रोजगारी गरि फर्किएका नेपाली मजदुरको सुरक्षाका लागि सरकार स्तरबाट रोजगारीका कार्यक्रम संचालनमा जोडदिएका छन ।
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले सरकारले स्वदेशमै रोजगारीका कार्यक्रम संचालन गर्न सके नेपालीको भारतीय मोह छुटने र अवस्थीले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर स्वदेशमै रोजगारीका कार्यक्रम सृजना भए नेपाली मजदुरले भारत जानुपर्ने अवस्था हट्ने बताए । कोरोना कहरका बेला फर्किएका नेपाली फेरी भारतमै रोजगारी गर्न गईरहेको बताउदै अध्यक्ष अवस्थीले भारतप्रतिको रोजगारीमोह हटाउनुपर्ने सुझाव दिए ।
निड्स नेपाल कञ्चनपुरका सहनिर्देशक प्रकासचन्द्र मडैले भारतमा कार्यरत नेपाली मजदुरको कहालिलाग्दो अवस्था भएकाले त्यसको निबाहरणका लागि सरकारी स्तरबाट उचित कदम चाल्नुपर्नेमा जोडदिए । निड्स नेपालले सुरक्षित आप्रवासन सम्बन्धी कार्यक्रम संचालन गरेर भारतमा रोजागारीमा जाने नेपाली मजदुरको बैंकखाता देखि विभिन्न प्रर्बद्धनात्मक कार्यक्रम संचालन गर्दै आएको छ ।






