प्रदेशस्तरीय सिनियर पुरुष एकदिवसीय क्रीकेट प्रतियोगितामा बैतडी फाइनल प्रवेश , बझाङको सान्त्वना जित

महेन्द्रनगर,

प्रदेशस्तरीय सिनियर पुरुष एकदिवसीय क्रीकेट प्रतियोगितामा बझाङको सान्त्वना जित संगै बैतडी फाइनल प्रवेश गरेको छ। विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसले खेलकुद क्षेत्र नै थला परेको बेलामा कञ्चनपुर जिल्ला क्रीकेट संघको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रीकेट विकास समितिको आतिथ्यतामा मङ्सिर २७ गते देखि कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रदेशस्तरीय सिनियर पुरुष एकदिवसीय क्रीकेट प्रतियोगिताको छैटौं दिन अर्थात दोश्रो चरणको तेस्रो दिनको पहिलो खेलमा बैतडीले कैलाली लाई हराउदै आफ्नो फाइनलको यात्रा पक्का तय गरेको हो।

बझाङ क्रीकेट टिम

बैतडी र कैलाली बीचको खेलमा बैतडीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । जसमा बैतडीले निर्धारित ४० ओभरको खेलमा ३३.५ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र १ सय ४५ रन बनाउनसक्यो। ब्याटिङतर्फ बैतडीका लागि दिपक बोहराले ५७ बल खेल्दा खडक बोहराले ३४ बल खेल्दै समान २३/२३ रन बनाउदा तल्लो क्रममा ब्याटिङ गर्न आएका गणेश सिंह थापा ११ बलमा आक्रामक अविजित २२ रन,कप्तान रामबहादुर चन्द २१ बलमा २० रन तथा केशव साउँदले २७ बलमा ११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। बलिङतर्फ कैलालीका लागि नरेन साउँदले ८ ओभरमा २ मेडेनसहित १८ रन खर्चंदै सर्वाधिक ६ विकेट लिन सफल हुँदा नारायण जोशी,शेर मल्ल,विनोद लामा र नागराज सिंहले समान १/१ विकेट लिन भएका थिए।

कैलाली र बैतडीका टिम क्याप्टेन

१ सय ४६ रनको सामान्य विजय लक्ष्य पछ्याउँदै मैदान उत्रेको कैलालीले निर्धारित ४० ओभरको खेलमा ३०.५ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र १ सय ३७ रन बनाउन सक्दा खेल ८ रनले गुमाउदै प्रतियोगिताबाट बाहिर भएको छ।ब्याटिङतर्फ कैलालीका लागि सुवास ऐरले २८ बलमा सर्वाधिक ३५ रन बनाउदा टेक रावत ४३ बलमा ३० रन,अर्जुन साउँद ३५ बलमा २४ रन तथा दिपेन्द्र थापाले २८ बलमा १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।बलिङतर्फ बैतडीका लागि खडक बोहराले ८ ओभरमा ३२ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा कप्तान रामबहादुर चन्दले ७ ओभरमा २९ रन खर्चँदा अर्का बलर गजेन्द्र बोहराले ५.५ ओभरमा २३ रन खर्चंदै समान २/२ विकेट लिन सफल हुँदै आफ्नो टिमलाई जित भने दिलाउनुका साथै प्रतियोगिताको फाइनलमा पुर्याउन सफल भएका छन् ।

प्रतियोगिताको दोश्रो चरणको तेश्रो दिनको पहिलो खेल बैतडीले ८ रनले जित्न सफल भएको छ। उक्त खेलको म्यान अफ दी म्याच बैतडीका खडक बोहरा घोषित भएका छन्।

कैलाली क्रीकेट टिम

शुक्रबार भएको दोश्रो खेल बझाङ र दार्चुलाबीच भएको रोमाञ्चक खेलमा दार्चुलाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित ४० ओभरको खेलमा २३.१ ओभर मा सम्पुर्ण विकेटको क्षतिमा मात्रै १ सय १ रन बनाउनसक्यो।ब्याटिङतर्फ दार्चुलाका लागि दिनेश कार्कीले २७ बलमा सर्वाधिक ३० रन बनाउदा गौतम धामी २७ बलमा १६ रन,करन डडाल १८ बलमा १६ रन तथा विपिन धामीले १३ बलमा १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक भने जोड्न सकेनन्।

बलिङतर्फ बझाङका लागि अशोक धामीले ५.१ ओभरमा १ मेडेनसहित १२ रन खर्चंदै सर्वाधिक ५ विकेट लिन सफल भए भने अभिनाश सिंह ५ ओभरमा १९ रन खर्चंदै ३ विकेट तथा सञ्जय बोहराले ५ ओभरमा २ मेडेनसहित २१ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भएका हुन।
१ सय २ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बझाङले निर्धारित ४० ओभरको खेलमा २३.२ ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ४ रन बनाउदै रोमाञ्चक ४ विकेटको जित निकाल्न सफल भएको छ। ब्याटिङतर्फ बझाङका लागि बाम बुढाले ३० बलमा सर्वाधिक २७ रन बनाउन सफल भए। अभिनाश सिंह २८ बलमा २१ रन,दिनेश ओड २९ बलमा १५ रन,रिजन थापा १५ बलमा १० रन तथा कप्तान राजन सिंहले १२ बलमा १० रन बनाउन सफल भए। बलिङतर्फ दार्चुलाका लागि राज वमले ४ ओभरमा २४ रन खर्चँदा अर्का बलर जनक बडालले पनि ५.२ ओभरमा १७ रन खर्चंदै समान २/२ विकेट लिन सफल भए पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।
प्रतियोगिताको दोश्रो चरणको तेश्रो दिनको दोश्रो खेल बझाङले ४ विकेटले जित्न सफल भएको छ।खेलको म्यान अफ दी म्याच बझाङका अशोक धामी घोषित हुन सफल भएका छन्। प्रदेशस्तरीय क्रीकेट प्रतियोगिताको फाइनल समूह “ए” को विजेता अछाम र समूह “बी” को विजेता बैतडी बीच भोलि बिहान फाइनल खेलको कडा प्रतिस्पर्धा हुने कञ्चनपुर जिल्ला क्रीकेट संघका स्कोरर नरेन्द्र भट्टले ई-सुदूर दर्पण डट कम लाई जानकारी दिएका छन्।

ताजा समाचार