अपाङ्गता भएका परिवारलाई ब्यवसायीकरुपमा कृषिमा जाेड्न छलफल

महेन्द्रनगर 

भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कञ्चनपुरले अपाङ्गता भएका परिवारलाई ब्यवसायी कृषिमा जोड्न छलफल चलाएको छ । चालु आर्थिक बर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार अपाङ्गता भएका ब्यक्तिको कृषक समुहलाई ब्यवसायीक रुपमा के कसरी लगेर उनीहरुलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्नेबारे छलफल गरिएको हो । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कञ्चनपुरका प्रमुख बरिष्ट पशु चिकित्सक डा. पानसिंह ठगुन्नाको अध्यक्षतामा मंगलवार बसेको बैठकमा कुखुरा माछा पालन लगायतका विभिन्न पक्षमा छलफल भएको सो कार्यालयका सूचना अधिकारी एवं पशु बिकास अधिकृत शंकर दत्त जोशीले जानकारी दिए । प्रदेश सरकारको भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयको अपाङ्ग लक्षित यस कार्यक्रमले अपाङ्गता भएका ब्यक्तिहरूलाई अवसर दिएमा आत्म निर्भर भएर समृद्ध जीवन जिउन सक्ने देखेर आफुले जस्तो सुकै परिस्थितिमा पनि सहयोग गर्ने कार्यालय प्रमुख डा. ठगुन्नाले प्रतिबद्धता जनाए ।

छलफलमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वार्ड नं ४ ,५ ,६, ७ र ८ का अपाङ्गता भएका ब्यक्तिहरूको समूह अपाङ्ग कृषक समुहका अध्यक्ष मनोज चन्द कोषाध्यक्ष कमल नेपाली यस्तै कार्यालयकातर्फबाट कार्यालय प्रमुख डा.पानसिंह ठगुन्ना, योजना अधिकृत पशु चिकित्सक खडक पाण्डेय, सुचना अधिकारी पशु बिकास अधिकृत शंकर दत्त जोशी, प्रशासन अधिकृत लक्ष्मण राज जोशी र लाईभष्टक अधिकृत दीर्घ कुमार स्वारको उपस्थिति थियो । सुचना अधिकारी शंकर दत्त जोशीले अपाङ्गता भएका ब्यक्तिहरूलाई राज्यले समान हक र अधिकार दिएर स्वतन्त्र जीवन जिउन पाउनुपर्ने भन्दै समाजका अन्य साङ्ग ब्यक्ति सरह सबै प्रकारका व्यवसाहिक कार्यक्रममा सहभागी गराउनुपर्ने बताए। सोही कार्यक्रममा अपाङ्गता भएका लाईभष्टक अधिकृत दीर्घ कुमार स्वारले पाखुरामा तागत भएका हाम्रा युवाहरू खाडीको ४५/५० डिग्री तापक्रममा आफ्नो पसिना चुहाएर बिदेशी भुमि मलिलो बनाउदै छन देश बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने युवा शक्ति बिदेशीयका कारण देशमा कृषि श्रमिकको अभाव भई रहेकोले हामी अपाङ्गता भएका ब्यक्तिहरू पनि राज्यको लागि केही योगदान गर्न सक्छौ भन्ने बिश्वासका साथ यो अपाङ्गता कृषक समूह गठन गरिएको बताए।

भीमदत्त नगरपालिकाबाट सुरू गरेको यो अपाङ्ग कृषक समूह गठन कार्यक्रम सुदूरपश्चिमका अठासीवटै स्थानीय तहमा गठन गरिने याेजना रहेकाे भन्दै उनले राष्ट्र र समाजको लागि बोझको रूपमा लिईने अपाङ्गता बर्गलाई व्यवसाहिक आयआर्जनका कार्यक्रमबाट आर्थिक रूपमा समृद्ध बनाई राज्यको मुल लक्ष समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई केही हदसम्म सहयोग पुग्ने बताए ।

ताजा समाचार