घरेलु कार्यालय महेन्द्रनगरमा कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई सास्ती

महेन्द्रनगर

कोरोना महामारी संगै कञ्चनपुरमा लकडाउनपछि घरेलु तथा उद्योग व्यवसाय अपनाउनेहरुको संख्या बृद्धि भएको छ । कोरोनाका कारण रोजगारी गुमाएका देखि सरकारी जागिरवालहरुले समेत स्वावलम्बन र स्थायीत्वकालागि उद्योग व्यवसाय दर्ता गराउने क्रम बढेको पाइन्छ । आफ्नो फर्म/उद्योग दर्ता गराउनकालागि घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरमा बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म सेवाग्राहीको लर्को हुन्छ । दैनिक ५० देखि ६५ जना उद्योग व्यवसाय दर्ताका लागि घरेलु कार्यालयमा आउने गरेको पाइएको छ । उद्योग तथा व्यवसाय दर्ताकालागि बिहानै देखि घरेलु कार्यालयमा फारम भर्नकै लागि पनी घण्टै लाइन लाग्नु पर्ने र काम भने ४/५ दिन ढिला सम्म पनी हुने गरेको सेवाग्राहीको गुनासो रहेको छ । उद्योग दर्ताका लागि भीड हुने गरेको र दर्ता प्रक्रिया चार दिन पछि पुरा भएको बेदकोट नगरपालिका–५ बाट पुरन धामीले बताए ।

सेवाग्राही धामीले घरेले कार्यालयमा आफ्नो नास्ता पसल दर्ता गराएका हुन् । त्यस्तै एक अर्का सेवाग्राही नवराज भट्टका अनुसार कार्यालयले कर्मचारी अभाव भन्दै काम निकै ढिलो गर्ने गरेको हो । कोरोनाका कारण र कर्मचारी अभावका कारण आफुहरुले सेवाग्राहीलाई छिटो छरितो सेवा दिन नसेको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत धर्मानन्द भट्टले आभाषकुञ्जलाई बताए । ‘कोरोना संक्रमणको जोखिम र कर्मचारीको अभावका कारण हामीले चाहेर पनी सेवाग्राहीलाई छिटो सेवा दिन सकिरेका छैनौं ।’ अधिकृत भट्टले भने–‘हाम्रो कार्यालयमा जम्म ९ जनाको दरबन्दी मात्र छ । त्यसमा पनी ३ जना कार्यालय सहयोगी, अझ १ जना प्राविधिक कर्मचारीको (शिक्षक) दरबन्दी हो ।

जो दरबन्दी खाली नै छ ।’ पाँच जना कर्मचारीका भरमा कार्यालय चलेको अधिकृत भट्टले जनाए । उनका अनुसार गरिबी निवारणका लागि लधु उद्यम विकास परियोजना अन्तर्गतका तीन जना कर्मचारी कार्यालयमा असार मसान्त सम्म कार्यरत थिए । तर उक्त परियोजना स्थानीय निकायबाट सञ्चालन हुने भएपछि हाल घरेलु कार्यालयमा कर्मचारी अभाव भएको हो ।

५० देखि ६५ जना सम्म सेवाग्राही आउने गरेकोमा २० देखि २५ जना सम्मको काम दैनिक हुने गरेको तर ३०/३५ ओटा फर्मको दर्ता पेण्डीङमा रहने गरेकाको घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरले जनाएको छ । उद्योग दर्ताका लागि कार्यालयलाई आवश्यक पर्ने प्रमाणपत्रहरु सेवाग्राहीले पुर्याउन नसक्दा पनि काममा ढिलो हुने गरेको अधिकृत भट्टको दाबि छ । ‘कार्यालयमा फाइल पुगेको हुन्छ डकुमेन्ट अभाव भएमा दर्ताको प्रक्रिया रोक्नु पर्ने हुन्छ ।

फोन गरेर सोध्दा पनि आवश्यक प्रमाणपत्र अपुग भएपछि, सेवाग्राही हामी संग झोक्किन्छन् ।’ अधिकृत भट्ट भने । कर्मचारी अभावकाकारण घरेलु कार्यालय महेन्द्रनगरले सेवाग्राहीको लाई सहज रुपमा सेवा प्रवाह गर्न सकिरहेको छैन् । आफु संग भएका तीन जना दक्ष कर्मचारी समायोजन हुँदै स्थानीय निकायमा गएपछि घरेलु कार्यालय महेन्द्रनगरमा ढिलासुस्ती बढेको हो । यद्यपी गरिबी निवारणका लागि लधु उद्यम विकास परियोजना अन्तर्गतका कर्मचारीहरुलाई स्थानीय निकायले अंगिकार गर्न नसकेको स्रोतको दाबि छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सुदूर पश्चिमका ९ आटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरुलाई असोज २ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार प्रचलित कानून प्रतिकुल नहुने गरि १/१ जना उद्यम विकास सहजकर्ता (इडीएफ) पाचौं तह र कम्प्युटर अपरेटर चौथो तहको कर्मचारी करार सेवामा लिई कामकाज गर्न सक्ने भन्दै १५ असोजमा पत्राचार गरिसकेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

घरेलु कार्यालयमा सुरु देखि नै कार्यरत रहदै आएका गरिबी निवारणका लागि लधु उद्यम विकास परियोजनाका कर्मचारीलाई स्थानीय निकायले अंगिकार गर्न नसकेको अवस्थामा सोहि कार्यालयले पुनः स्थापन गर्दै करार पद पुर्ती गरेमा कार्यसम्पादनको ढिलासुस्ती तत्काल हट्ने देखिन्छ । तर उक्त कार्यालय करार सेवामा कमर्चारी लिन समेत ढिलासुस्ती गरेको पाइन्छ । एकातिर घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरमा सेवाग्राहीको चाप बढ्दो छ, भने अर्को तर्फ कार्यालयले कर्मचारी अभाव भएको जनाउने र अभाव कर्मचारीको पदपुर्तीमा ढिलाई गर्दै आएको छ । यद्यपी सुदूरपश्चिमका अन्य घरेलु कार्यालयहरुले भने प्रदेश सरकारको निणर्यानुसार कर्मचारीको पद पुर्ती गरिसकेका छन् ।

ताजा समाचार

This will close in 10 seconds