क्वारेन्टिनका रुपमा प्रयोग भएका विद्यालयलाई निर्मलीकरण नगरिदा जोखिम

कञ्चनपुर 

शुक्लाफाँटा नगरपालिकामा क्वारेन्टिनका रुपमा प्रयोग गरिएका विद्यालयलाई निसंक्रमित(निर्मलीकरण)को कार्य नगरिदा निकै जोखिम बढेको छ । बन्दाबन्दीका बेला भारतबाट फर्केका व्यक्तिहरुलाई राख्नका लागि क्वारेन्टिनका रुपमा प्रयोग गरिएका विद्यालयमा निसंक्रमितका कार्य नगरिदा जोखिम बढेको हो । क्वारेन्टिनमा बस्नेहरुले जताततै गरेको फोहर नउठाइदा विद्यालय परिसरमा जानका लागि समेत डराउनु पर्ने अबस्था सृजना भएको छ ।
‘विद्यालयलाई पहिले जस्तो थियो । सोही अबस्थामा राख्ने शर्तमा क्वारेन्टिनका रुपमा प्रयोग गर्न दिएका थियौं’ कालिका माध्यमिक विद्यालयका प्रद्यानाअध्यापक राघवप्रसाद अबस्थीले भने, ‘क्वारेन्टिनका रुपमा विद्यालय प्रयोग गरेपछि निसंक्रमित नगरिकनै छाडिएको छ । विद्यालयको हाता भित्र छिर्न समेत डराउने अबस्था छ ।’
उनका अनुसार विद्यालयका कक्षा कोठा र हाता भित्र प्रयोग भैसकेका मास्क, पंजा, प्रयोग गरिसकेका सेनेटाइजरका बोतलहरु र पानी पिएर फालिएका बोतलहरु यत्रतत्र फालिएका छन ।

कोरोना भाइरसको संक्रमण हुन सक्ने डरले क्वारेन्टिनमा बसेका व्यक्तिहरुले प्रयोग गरेर फालेका सामान सफा गर्न समेत सकिएको छैन । क्वारेन्टिन बस्नेहरुले कोठामै पुराना कपडाहरु समेत छाडेर गएका छन । क्वारेन्टिन राखिएका विद्यालयमा रहेका सौचालय समेत प्रयोग गर्ने अबस्थमा रहेका छैनन् । ‘सौचालय निकै दुर्गन्धित संगै मास्क लगायतका अन्य प्रयोग गरिएका सामानहरु फालिएकाले सौचालय प्रयोग गर्न पाएका छैनौं’ प्रद्यानाअध्यापक अबस्थीले भने, ‘विद्यालय जान समेत डराउने अबस्था रहेको छ ।’ क्वारेन्टिनमा बस्नेहरुले विद्यालयका बेन्च, पंखा र विद्युतीय वाइरिङमा समेत तोडफोड गरी क्षति पुरयाएका छन । नगरपालिका कार्यालयले पहिला जस्तै विद्यालयलाई निसंक्रमित गरी टुटेका बेच्न, पंखा लगायतका सामानको मर्मत संगै विद्यालयमा रंगरोगन गर्ने बाचा पुरा नगरेर विद्यालयलाई जोखिम अबस्थामा छाडेको विद्यालयका शिक्षकहरुको भनाई रहेको छ ।
विद्यालयको प्रशासनिक कार्य गर्नका लागि समेत डराई डराई विद्यालयमा जादै गरेको सिद्धबैजनाथ माध्यमिक विद्यालयका शिक्षक तेज बहादुर साउदले बताए ।

‘विद्यालयको कक्षा कोठामै चुरोटका ठुटा र अन्य प्रयोग गरि सकिएका सामग्री रहेका छन’ उनले भने, ‘कोरोनाको संक्रमणको डरले कोठा सफा गर्न सकिएको छैन ।’ सौचालय जानु पर्ने डरले विद्यालयमा पानी समेत नपिउने गरेको उनले बताए । ‘क्वारेन्टिनमा बस्नेहरुका कारण सौचालय पुरै दुर्गन्धित छन’ उनले भने, ‘सौचालयमा फालिएका सामानका कारण कोरोनाको संक्रमण हुने डरले जादैनौं ।’ क्वारेन्टिनका रुपमा प्रयोग भएका विद्यालयको पानी र विद्युतको महशुल समेत नगरपालिकाले नतिर्दा झनै समस्या भएको छ । नगरपालिकाले विद्यालय निसंक्रमित गर्नका लागि निसंक्रमितको कार्य गरिने अश्वासन दिदै आएपनि हाल सम्म कुनै कार्य अगाडी बढाईएको छैन । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिशसन सिंह थापाले विद्यालय निसंक्रमित गर्नका लागि रु १५ लाख रकम विनियोजित गरिएको बताउनु भयो ।

‘दशैं लगायतका चाडपवै आउन लागेपछि भारतबाट फर्कनेहरुको संख्यामा बृद्धि भए पुन : विद्यालयलाई क्वारेन्टिनका रुपमा प्रयोगमा ल्याउनु पर्ने हुन्छ’ उनले भने, ‘त्यसैले सेनेटाइजको कार्य गरिएको छैन । विद्यालयलाई पुनः क्वारेन्टिनका रुपमा प्रयोग नगरे विद्यालय शुरु हुनु अगावै सेनेटाइजको कार्य गर्छौ ।’ विनियोजित बजेटबाटै क्वारेन्टिनका रुपमा प्रयोग गरिएका विद्यालयको पानी र विद्युतको महशुल तिर्ने व्यवस्था गरिने उनले बताए ।
कोरोना भाइरसको संक्रमणलाई मध्यजनगर गर्दै गरिएको बन्दाबन्दी पछि शुक्लाफाँटा नगरपालिकाका २२ वटा विद्यालय र एक वटा क्याम्पसलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको थियो । क्वारेन्टिनमा भारतबाट फर्केका नगरपालिका क्षेत्रका झण्डै चार हजार बढी व्यक्तिहरुलाई राखिएको थियो । असार मसान्त देखि २१ वटा विद्यालयम सञ्चालन हुदै आएका क्वारेन्टिन बन्द गरिएका छन । हाल श्रीकृष्ण माध्यमिक विद्यालयलाई क्वारेन्टिन र कृष्ण बैजनाथ क्याम्पसलाई नगरपालिकाले आइसोलेसनका रुपमा प्रयोग गर्दै आएको छ ।

ताजा समाचार