मैले महसुश गरेका महान सहिद भिमदत्त

चन्द्र ऐर. डडेल्धुरा

“कित जोत हलो, कित छोड थलो ” यदि हैन भने !अब छैन भलो!“भन्ने नारा दिएर किसानका पक्षमा सामन्त विरुद्ध सशस्त्र आन्दोलन गर्दै जीवनको आहुती दिएका तत्कालीन क्रान्तिकारी किसान नेता भीमदत्त पन्तलाई आफु आन्दोलनका स्थरमा रहदा मात्र चिनिन्छ। पन्तका आदर्श र क्रान्तिमा उठाइएका मागलाई अगाडि नबढाइँदा किसान, मजदुर, विपन्न, दलित उत्पीडित समुदायले न्याय अझैपनि पाउन सकेका छैनन् । नेता पन्तलाई आदर्श मान्दै आएका हामि सबैले सडकमा हुँदा उनलाई सम्झने र सत्तामा गए पछि सामाजिक सञ्जाल र दिप प्रजोलनमै सिमितता रहदा किसान आन्दोलन अझै कहाँ भन्ने ? दलहरुमा आदर्श भन्दा सत्ता साँठगाँठलाई महत्व दिने प्रवृत्ति बढेका कारण र किसानलाई उपेक्षा गर्दै आएकाले पनि पन्तका सपना पूरा हुने नसकेको हो कि?  सच्चा सम्मान गरेको तब मानिने छ, जब उनले उठाएको मुद्दा सम्बोधन हुनेछ ।” भूमिहीन, सुकुम्बासी, बाढीपीडित, हलिया, मुक्तकमैया, आरक्षपीडित, ऐलानीबासी, र किसानले जग्गा र जग्गाको अधिकार पाए मात्रै पिछडिएका जाति र समुदायले न्याय पाउने छ। “गरीबलाई गास बास र कपास संगै रोजगारीको ग्यारेण्टी गर्नु भीमदत्त पन्तलाई सम्मान गर्नु हो ।” पन्तका स्वराज, स्वाभिमान, आत्मनिर्भर अर्थतन्त्र, कृषिमा आधुनिकीरण लगायत माग अहिले पनि आत्मसात् गर्न सकिने खालका रहेको सर्वविधितै छ । किसान नेता पन्तले गरेको आन्दोलन र उठाएका माग जनतादेखि नेताहरुका मानसपटलमा कुनै न कुनै रुपमा रहे पनि कार्यान्वयन गर्ने आँट अहिलेसम्म कसैले गरेको देखिदैन् ।

डडेल्धुराको कारीगाउँमा विसं १९८३ मंसिर १० गते उनी आमा सरस्वती र बुवा तारनाथका सुपुत्रका रुपमा जन्मिएका पन्त । पन्तले सामन्तवादको उन्मूलन र छुवाछुतविरुद्धको आन्दोलन सशक्त रुपमा उठान गरी जनचेतना छर्ने कार्यका लागि सशस्त्र आन्दोलनको शुरुआत गरेका पन्तले तत्कालीन शासकको विरोध गर्दा आँखाको तारो बन्न पुगेका थिए । नेता पन्तका ‘सामन्तका घरबाट तमसुक फाड्ने तमसुक फट्टाकाण्ड, ब्रह्मदेव नुनकाण्ड’ चर्चित छन् । सामन्त,शोसक तथा भूमाफिया दलाललाई लक्षित गरी नेता पन्तले लगाउने गरेको “कि त जोत हलो यदि हैन भने छाड थलो“ भन्ने नारा त्यस बेला जनजिब्रोमा झुण्डिएको थियो भने अहिले पनि जनजनका मनमा अमिट रुपमा रहेको छ ।

उत्तरप्रदेश भारतको सिंहाईबाट संस्कृत विषयमा हाइस्कूलसम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पन्त नै थिए । उनले आफूसँग रहेको डडेल्धुरा सिराडस्थितको भूमि किसानका नाममा गरेका थिए ।अन्याय र सामाजिक भेदभाव देखि सहन नसक्ने पन्तले विसं २००७ देखि आन्दोलनको शुरुआत गरेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएका छन्। यद्यपि, नेता पन्तका बारेमा अझै थुप्रै विषयवस्तु अहिलेसम्म पनि रहस्यकै रुपमा रहेका छन् । अन्याय गर्नेलाइ दण्डसजाय । गरीब, दलित, जनजाति र किसानलाई सङ्गठित गरी राणाविरोधी आन्दोलनमा समेत पन्तले अतुलनीय भूमिका निर्वाह गरेका थिए तर २००७ सालको राजनीतिक परिवर्तनपछि काँग्रेसले गरेको शासन पद्धति एवं नितिलाई भने उनले रुचाएनन् । क्रान्ति पूरा नभएको भन्दै जननायक पन्तले तत्कालीन समयमा बनेको नेपाली कांग्रेस र राणा संयुक्त सरकारको विरोध गरेका थिए । युगान्तकारी परिवर्तनका पक्षमा स्पष्ट अडान भएका पन्तले दलित, मगर र थारुहरु सङ्गठित गरी मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपसिंह मुक्तिसेनाका कमाण्डर थिए । दक्षिण भारतका कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए ।

किसानलाई बेदखल गर्ने, उनीहरुको नाममा जाली तमसुक बनाउने र श्रमशोषण गर्ने ठालुहरुलाई उनले जनकारवाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे, युग पुरुष पन्तको क्रान्ति विरोध गर्ने तथा कारवाही गर्नेमा मात्र सीमित थिएन । गरीबहरु संगठित हुनुपर्छ, अन्न खेर फाल्नु हुँदैन, उत्पादन बढाउनुपर्छ, अनावश्यक खर्च घटाउनुपर्छ, प्रकृति बिग्रने काम गर्नु हुँदैन, शिक्षा सबैले पाउनुपर्छ लगायतका बहुआयामिक एवं उत्पादनमुलक क्षेत्रमा समेत पन्तले सचेतना अभियान चलाए । यसैकारणले उनले जीवनको बलिदानी दिनु पर्यो ।

सुदूरपश्चिम र मध्यपश्चिमका अधिकाँश जिल्लामा भ्रमण गर्दा गरीबले नूनसमेत खान नपाएको थाहा पाए पछि उनले नून आन्दोलनको घोषणा गरे । कञ्चनपुरको ब्रह्मदेवमा भएको गाोदामबाट गरीबलाई नुन र कपडा वितरण गरे । त्यति नै बेला गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगञ्ज लगियो । भागेर ज्यान बचाई कञ्चनपुर आए । उनले आफ्ना बुवालाई पनि सामन्त भएको बताई घरमा भएका तमसुक च्याते, जलाइदिए । मालअड्डामा भएका मूठहरु जलाए । त्यसपछि बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भई बसे । क्रान्तिमा सहयोग गर्नेहरुलाई कर्मचारी बनाए । चार महीनासम्म उनले शासन चलाए । उनले बेलौरीमा बैंक कब्जा गरी त्यहाँबाट लिइएको पैसा सैनिकलाई तलब दिएर बाँकी कमैया र हलियालाई सहयोग गरे ।

सरकारले पन्तलाई पटक पटक काराबास हाल्यो । त्यसबाट पनि पन्त विचलित नभएपछि मार्ने षडयन्त्र गरी भारतीय सैनिक समेत बोलाइयो । पन्त बेलौरी कब्जा गरी धनगढी कब्जा गर्ने तयारी साथ हिँडिरहेका बेला भारतीय सैनिकले घेरामा पारे । उनी त्यहाँबाट बच्न सफल भई केही सैनिकका साथ निंगाली, सहजपुर हुँदै डोटी बुडर पुगे । सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सैनिक मारिए । विसं २०१० साउन १७ गते बुडरको गइलेकमा मगरका घरमा खाना पकाउन लागेका बेला गोली हानियो र पछि टाउको काटी मारियो । टाउको लगेर बडाहाकिम सिंहलाई बुझाइयो । काटिको टाउको बाँसको टुप्पामा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो ।

किसान आन्दोलनको नेतृत्व गरी सबै दलका आदर्श बनेका पन्त लामो समयपछि वि.सं २०७२ सालमा शहीद घोषित हुनुभएको छ । उनको दिवस एक दिन मनाउने र त्यसपछिका वर्षभरीमा ३६४ दिन विर्सने प्रवृत्ति एकतिर छ भने अर्कोतिर उनको नाममा संस्थाहरु खोल्ने र त्यसलाई कमाई खाने भाँडो बनाउनेहरु महाशयहरुको पनि कमी छैन् । युगका महान योद्धा भीमदत्त पन्त यो संसार छोडेको ६७ वर्ष हुदाँ समेत उनको चर्चापरिचर्चा भने अभिवृद्धि भैरहेकै छ । उनले गरेको योगदानलाई एक दिनका लागि सम्झेजस्तो गर्नुको साटो, उनको मालामा माल्यापर्ण गर्नु मात्रै वा चर्को स्वरमा भाषण ठोक्नाले मात्रै उनी प्रतिको सच्चा सम्मान गरेको सम्पूर्ण रुपमा ठहरिदैन । जवसम्म समाजबादको यथार्थपरक ढङगबाट समाजमा समरुपता स्थापीत हुदैन तव सम्म जति कोरा सम्मान गरे पनि पूर्ण हुनेछैन् । लोकतन्त्र, गणतन्त्र आईसक्दा समेत महा मानव पन्तको दूरदृष्टि र वस्तुस्थीतिमा तल्लो स्थर सम्म महसुश भएको छैन् ।

“बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरीबका दिन आया अब… ठालुको काल आयो ।“
“रोजीरोटी कपडा दे, नत्र गद्दी छोडी दे’ ‘गरिब किसान राज जिन्दावाद, शोषक सामन्ती मुर्दावाद “
जनताको जीवन रुपान्तरण कहिले होला, भीमदत्तको योगदानको सच्चा सम्मान कुन समयमा होला भन्ने एकिन गर्न गाहे छ, तर यो प्रश्न हाम्रा अहिलेका सत्ताको बागडोर समालेका नेता ज्यूहरु समक्ष मुखरित भएको छ । भीमदत्त जस्ता हजारौं सहिदको सपना कहिले पूरा हुन्छ त मेरो सरकार ? सर्वहारा जनताको प्रश्न पेचिलो बन्दै गईरहेको तितो सत्य लाई आत्मसात् गर्ने कि नगर्ने? तपाईकै जिम्मा है त !

(लेखक: चन्द्र ऐर, अनेरास्ववियू डडेल्धुरा कार्यालय सदस्य हुन)

ताजा समाचार

This will close in 10 seconds