किसान नेता भीमदत्त पन्तको ६७औँ स्मृती दिवस भव्यताको साथ मनाईयो

‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरीबका दिन आया, ठालुको काल आयो ।’ ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ ‘रोजीरोटी कपडा दे, नत्र गद्दी छोडी दे’ ‘गरिब किसान राज जिन्दावाद, शोषक सामन्ती मुर्दावाद’ जस्ता नारा लगाउदै किसानहरुको हकहितका लागि जीवन आहुति दिने किसान नेता भीमदत्त पन्तको ६७औँ स्मृती दिवस भीमदत्तनगरपालिका स्थित वडा नं. १८ मा रहको भीमदत्त पन्त स्मृति उद्यान तथा भीनपा ४ मा रहेको भीमदत्त प्रतिष्ठानमा विभिन्न कार्यक्रम गरी भव्यताको साथ मनाईयो ।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले किसान नेता पन्तको परिवर्तन ल्याउनमा अतुलनीय योगदान रहेको वताए । तीनै तहका सरकारले सहकार्य तथा समन्वयमा जनपक्षीय काम गरिरहेको चर्चा गर्दै मन्त्री बोहराले अबको क्रान्ति जनताको जीवन समुन्त पार्ने भएको वताए । किसान नेता सहिद भीदत्त पन्तको ६७ औं स्मति दिवसका असवरमा भीमदत्त अमर सहिद प्रतिष्ठान कंचनपुरले शनिवार एक विशेष समारोहको आयोजना गर्दै पन्तको सालिकमा माल्यार्पण तथा श्रद्धासुमन प्रकट गरेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त संग्राहलय निर्माण गर्ने योजनामा नगरपालिका कटिबद्ध भएर लाग्ने बताए । नगर प्रमुख विष्टले भीमदत्त नगरपालिकाले भीमदत्त पन्त सबैका लागि सम्मानका पात्र भएको वताए ।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभासदस्य लाल बहादुर खड्का, महेशदत्त जोशी र मानबहादुर सुनार,नगर प्रमुख सुरेन्द्र विष्ट लगायत भीमदत्त अमर सहिद प्रतिष्ठानका पदाधिकारी सहिदको उपस्थिति रहेको थियो ।

भीमदत्त पन्तको जीवन गाथा


कि त जोत हलो कि त छोड थलो, होइन भने अब छैन थलो
नेपाली किसान आन्दोलनका महान शहिद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका कोखबाट १९८३ मंसिर १० गते जन्मेका हुन । उत्तरप्रदेश भारतको सिन्हाई बाट संस्कृत विषयमा हाईस्कुल सम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । पन्त सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने महान व्यक्ति पनि थिए । पन्तले ‘ठालु खान्ना आलु, गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए । भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोेही नाम हो । उनले ‘जसको जोत उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ ’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए ।
जनताको हक कायम गर्न किसान आन्दोलन, बेलौरी नुन काण्ड, ब्रह्मदेउ नुन तेल रासन व्यापारीले कालो बजारी उपभोक्ता लाई बिक्रि गर्न छाडे पछिको आन्दोलन गरी सर्वसाधारण खाद्यान्न लाई वितरण, अमरगढी नगरपालिका २ बिरखम्बमा बिद्यालय स्थापना लगायत शिक्षाका क्षेत्रमा पनि अहम भुमिका खेलेको थिए ।

शहिद भिमदत्त पन्तको स्मृतीमा सात नं. प्रदेका दुई तराई र सात पहाडी जिल्ला जोड्ने कैलालीको अत्तरिया देखि डडेल्धुरा सदरमुकाम सम्मको सडकको नाम भिमदत्त राजमार्ग राखिएको छ । सदरमुकाम बागबजार र स्याउले बजारमा शहिद पन्तको शालिक स्थापना गरिएको छ भने कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा पनि नगरपालिकाको नाम भिमदत्त नगरपालिका नामाकरण गरिएको छ । सदरमुकाम डडेल्धुरामा भिमदत्त बहुमुखी क्याम्पस पनि सञ्चालन गरिएको छ । पन्तको जीवनीमा आधारित नेपाली चलचित्र भिमदत्त पनि बनाईएको छ ।

प्रतिष्ठानले लामो समय देखि सहिद पन्तको स्मृती दिवस मनाउँदै आएको भए पनि वि.स.२०७२ फागुन १९ गते बुधबारका दिन मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रुपमा भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो । किसान योद्धाका रुपमा चिनिने पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटि हत्या गरिएको थियो । सोही सम्झनामा सहिद भीमदत्त स्मृती प्रतिष्ठानले स्मृती दिवस मनाउदै आएको छ ।

ताजा समाचार