अत्येष्टिपछि कोरोना पुष्टि, मलामी खोज्दै सरकार

जेष्ठ २४, धनगढी — सेती प्रादेशिक अस्पतालमा डायलसिसका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मलामी जानेको खोजी सुरु गरिएको छ ।

धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शुक्रबार राति डायलसिसका क्रममा मृत्यु भएको थियो । संक्रमण पुष्टि हुनुअघि नै ती महिलाको स्थानीय मोहना नदीमा दाहसंस्कार गरिएको थियो ।

शनिबार ती महिलामा कोरोना पुष्टि भएको हो । उनी शुक्रबार नै डायलसिस गराउन अस्पताल भर्ना भएकी थिइन् । अस्पताल प्रशासनका अनुसार मृतक महिलाको आरडीटी नेगिटिभ आएको थियो । यसअघि उनी नेपालगन्ज र काठमाडौंमा डायलसिस गराउँदै आएको खुलेको छ ।

मृत्युपछिमात्रै स्वाब संकलन गरी परीक्षण गरिएको हो । ती महिलामा संक्रमण पुष्टि भएपछि अस्पतालको उक्त वार्ड सिल गरिएको छ । जिल्ला जनस्वास्थय कार्यालयका निमित्त प्रमुख ललितबहादुर धामीले मलाली गएकाहरुको खोजी भइरहेको बताए । ‘दाहसंस्कारपछि कोरोना संक्रमणको रिपोर्ट आयो,’ उनले भने, ‘त्यति बेलासम्म दाहसंस्कार गरिसकेको रहेछ ।’

उनले मलाली गएका सबैलाई सम्पर्कमा आउन सम्बन्धित वडाध्यक्ष र आफन्तलाई खबर गरिएको बताए । मलामी गएका सबैको स्वाब परीक्षण गरिने उनले बताए । -कान्तिपुरबाट

ताजा समाचार