गणेश एसके/कञ्चनपुर : निजी विद्यालयका छाता संगठनहरुले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन एकीकरण गर्न बनेको विधेयक २०८० सम्बन्धी अन्तरक्रिया गरेका छन् । विभिन्न सरोकार वाला निकाय ,राजनीतिक दल शिक्षक संगठन लगायतको उपस्थितिमा शुक्रबार महेन्द्रनगरमा एनप्याब्सन, प्याब्सन र हिसानले अन्तर्क्रिया गरेका हुन ।
प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्दले अहिले कम्पनी ऐन अन्तर्गत चलिरहेका निजी विद्यालयहरु ५ वर्ष भित्र शैक्षिक गुठीका रूपान्तरण हुनुपर्ने भन्ने कुरा गलत रहेको र त्यसमा आफूहरुको घोर आपत्ति रहेको बताएका छन । विद्येयकमा ४५ प्रतिशत छात्रवृत्तिमा निजी विद्यालय बाट पढेका विद्यार्थीले नपाउने गरी आएको प्रावधान विभेदकारी छ , सल्लाहकार चन्दले भने ।
एन प्याब्सन कञ्चनपुरका सचिव बलदेव भट्ट पनि निजी विद्यालयलाई कुनै क्षतिपूर्तिको व्यवस्था नगरी निजी स्तरबाट सञ्चालित विद्यालय पूर्ण रुपमा शैक्षिक गुठीका रुपमा जानुपर्ने कुरा आपत्तिजनक रहेको बताउँछन् । कानुनको परिधिमा रहेर निजी विद्यालयहरु निर्बाध रूपमा सञ्चालन गर्न दिनुपर्ने राज्यसँग सचिव भट्टको माग छ ।
विभिन्न राजनीतिक दल , शिक्षकहरुका छाता संगठन र अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो। अन्तरक्रियामा सहभागी वक्ताहरुले संघीय शिक्षा विधेयकलाई संक्दो बढी प्रभावकारी र सबैका साझा र जनहितका विषयलाई समेटेर सरकारले ऐन बनाउनुपर्नेमा जोड दिएका थिए । प्याब्सन कञ्चनपुरका अध्यक्ष अम्मरराज भट्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य भने एन प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकर राज जोशीले राखेका थिए ।